राजनीति

सुवास नेम्वाङको चेतावनी - ओलीलाई हटाउन खोजिए एकता नै भंग हुन्छ

सुवास नेम्वाङको चेतावनी - ओलीलाई हटाउन खोजिए एकता नै भंग हुन्छ

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकलौटीरुपमा २ अध्यादेश ल्याएपछि सतहमा आएको उक्त पार्टीभित्रको आन्तरिक कलहले यतिबेला नेपाली राजनीति तातेको छ ।

राजनीतिक दल विभाजन र संवैधानिक परिषदमा विपक्षीको प्रतिनिधित्व आवश्यक नपर्ने संसोधनसहितका दुई अध्यादेश ल्याएपछि पार्टी भित्र र बाहिर चौतर्फी आलोचना भएपछि ३ दिनमै ओलीले फिर्ता गरे र राष्ट्रपति विद्या भण्डारीले दुवै अध्यादेश खारेज गरिन । अध्यादेश खारेज भए पनि नेकपाभित्रको आन्तरिक विवादमा भने अध्यादेशले नै घिउ थपेको छ ।

यतिबेला प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डबीच आन्तरिक द्वन्द उत्कर्षमा छ । त्यसको पछिल्लो उदाहरण हो बुधबारको सचिवालय बैठक । बुधबार अपरान्ह वालुवाटारमा बसेको सचिवालय बैठक छोडेर ओली एकाएक बाहिए, जसकारण उक्त बैठक बिना कुनै निष्कर्ष सकियो भने बिहिबारका लागि बोलाइएको पार्टी स्थायी समिति बैठक पनि स्थगित भयो ।

अब पार्टीका २ अध्यक्षले छलफल गरेर फेरी स्थायी समित बैठकको नयाँ मिति तय गर्ने बताइएको छ । स्थायी समिति बैठक स्थगित भएपछि नेकपाका नेताहरुका बिभिन्न धारणाहरु बाहिर आइरहेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका केही स्थायी कमिटी सदस्यहरु बैठक माग गर्दै अलग्गै भेलामा जुटेका बेला स्थायी कमिटीकै एक प्रभावशाली सदस्य सुवास नेम्वाङ भने संसदीय दलको कार्यालयमा बसेर बैठकको औचित्य र आवश्यकता नरहेको बताउँदै थिए ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङ प्रधानमन्त्री केपी ओलीको ‘किचन क्याबिनेट’का सदस्य मानिन्छन् । प्रायः हरेक दिन प्रधानमन्त्रीसँग भेट्ने थोरैमध्येका एक नेता उनी अध्यादेशको भने विपक्षमा थिए । उनले प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिनसमेत सुझाव दिएका थिए ।

त्यही अध्यादेशकै कारण चर्किएको विवादले गर्दा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र राजीनामा नदिए दुवै पदबाट हटाउने चेतावनी स्थायी कमिटीका केही नेताहरुले दिइरहेकै बेला नेम्वाङले भने नेकपाका दुवै अध्यक्षलाई महाधिवेशनअघि कुनै पनि बहुमतले हटाउन नसक्ने दाबी गरेका छन् ।

एक अनलइनसँग  कुरा गर्दै पूर्वसभामुख नेम्वाङले भने, 'नेपाल कम्युनिस्ट पार्टीका एकता टुंगिएको छैन । महाधिवेशनभन्दा अघि केपी ओली वा प्रचण्ड कुनै पनि एक अध्यक्षलाई हटाउने वा राजीनामा माग्ने कुराले पार्टी एकता भंग हुन्छ र कुनै पनि बहुमतको नाममा अध्यक्ष हटाउनै मिल्दैन ।'

दुबै संविधानसभाका अध्यक्षसमेत रहीसकेका नेम्वाङले जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्रीको राजिनामा मागेर अस्थिरताको बिउ रोप्ने कार्य स्वीकार्य नहुने भन्दै महाधिवेशन र अर्को निर्वाचनबाट ओली दुवै पदमा पुनः नदोहोरिने दावी समेत गरे । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले प्रष्टरुपमा, प्रष्ट शब्दमा भनिराख्नुभएको छ,म एउटै कक्ष दोहोर्‍याइराख्ने व्यक्ति होइन । अर्थात महाधिवेशनपछि महाधिवेशनपछि फेरि अध्यक्ष हुने कुनै चाहना छैन ।' फेरि प्रधानन्त्री हुने पनि चाहना छैन । यस्तो अवस्थामा जनताको जनादेश विपरीत, जनता र कार्यकर्ताका चाहना विपरीत प्रश्न उठ्ने ढंगले यस्ता काममा हामी किन लाग्ने ?'

विशेष