विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ । तीनदिनसम्म संसदमा चलेको छलफलपछि आज विनियोजन विधेयक बहुमतले पारित भएको हो । विनियोजन विधेयक पारित भएसँगै प्रतिपक्षी दलका सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव अस्विकृत भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाको बजेट संसदमा पेश गरेको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि मन्त्रालयगत छलफल समेत सम्पन्न भएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा पेश गरेको विधेयकमाथिको छलफल सकिएपछि आर्थिक विधेयक समेत संसदमा पेश भएको छ ।
जेठ ३२ गतेदेखि आर्थिक विधेयकमाथि छलफल गर्ने समय समेत निर्धारण भएको छ । आजै संसदमा राष्ट्र ऋण उठाउने विधेयक समेत संसदमा पेश भएको छ । जुन विधेयकमाथि आज सैद्धान्तिक छलफल शुरु भएको छ । छलफलमा भाग लिदै सांसदहरुले ऋण उठाएर अर्थतन्त्र चलाउन नहुने बताएका छन् ।
नेपालको अहिले साढे ११ खर्बभन्दा बढि ऋण रहेको छ भने वार्षिक रुपमा ७५ करोडभन्दा बढि साँवा व्याज भुक्तानी गर्दै आएको छ । आगामी आर्थिक वर्षका लागि समेत सरकारले साढे ५ खर्बभन्दा बढि रकम ऋणमार्फत परिचालन गर्ने लक्ष्य राखेको छ ।