कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्न मागसहित कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन
काठमाडौँ । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जेठ २६ गते बसेको केन्द्रीय समितिले कोरोना महामारी नियन्त्रणमा सरकार पूर्णत: असफल भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।
ज्ञापनपत्रमा सरकारले कोरोना नियन्त्रणमा दस अर्ब खर्च भएको बताएकोमा त्यो खर्चको पूर्ण विवरण सार्वजनिक गर्न माग गरिएको छ । साथै यस्तो पीडा र आपतको समयमा सरकारो रवैया हेर्दा सरकार जनताको पक्षमा नभएको देखिएको पनि उल्लेख गरिएको छ । महामारीको बेला समेत कमिसन र भ्रष्टचारको जालो भइरहनु निर्लज्जताको पराकाष्ठा भएको पनि बताएको छ ।
बुधबार ज्ञानपपत्र बुझाउन पौडेलको नेतृत्वमा नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, बालकृष्ण खाँण र रमेश लेखक बालुवाटार पुगेका थिए । कांग्रेसले बुझाएको १२ बुँदे ज्ञापनपत्रमा सरकारले स्वास्थ्य सामाग्रीको आपुर्तिदेखि क्वारेन्टाइनको व्यवस्थापनसम्ममा राम्ररी काम गर्न नसकेको बताइएको छ । 'कांग्रेस, संचारमाध्यम र आमजनताको साथ र सहयोगका बाबजुद सरकारको असक्षमताका कारण कोरोनाबाट अनपेक्षित क्षति ब्यहोर्नु परेको छ,' ज्ञापनपत्रमा भनिएको छ । सरकारले लकडाउनको उचित व्यवस्थापन गर्न नसकेको, पीसीआर परीक्षणमा जोड नदिएको र स्वास्थ्य सामाग्री खरिदमा पटकपटक भ्रष्टचार भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
'राष्ट्रिय विपतको यस्तो अवस्थामा स्वास्थ्य सामाग्री खरिदमा पटकपटक अनियमितता तथा भ्रष्टचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको छ । सरकारले दश अर्ब खर्च भएको भनेको छ तर त्यसअनुसार काम देखिएको छैन,' ज्ञापनपत्रमा भनिएको छ ।