राजनीति

नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

आइतबार अपरान्हका लागि बोलाइएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको हाइकमाण्ड बैठक एकाएक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूलाई धेरै धपेडी भएकाले आजको बैठक स्थगित भएको छ,’ थापाले भने। यता पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने बैठक स्थगित गर्नुको कारणबारे जानकारी नभएको बताएका छन्। ‘केहीबेरअघि बैठक स्थगितको सूचना आएको छ,’ श्रेष्ठले भने, ‘किन स्थगित गरिएको भन्ने जानकारी छैन ।’

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएकाे थियो । बैठकमा सचिवालय सदस्यबाहेक नेकपाद्वारा गठित कार्यदल सदस्यहरू परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य भीमबहादुर रावल र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको थियो ।

यसअघि २७ जेठमा बोलाइएको बैठक पनि स्थगित भएको थियो । संसदमा बजेट र संविधान संशोधनसम्बन्धी एजेन्डा पारित गर्नुपर्ने भएकाले कार्यव्यस्तताको कारण जनाउँदै बैठक स्थगित गर्नुपरेको अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई सूचित गरेका थिए ।

विशेष