नक्सा पास गरेर ओली सरकार देशको हितमा एक कदम भए पनि अघि बढ्यो : विप्लव
काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले दबाबका बीच भए पनि सरकार अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढेको बताएका छन् ।
विप्लवले नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएकाले जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्सा संसद्बाट पास गर्न बाध्य भएको बताएका हुन्।
आइतबार एक प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले भनेका छन्, ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसका विरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएका छन् । उक्त जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरू समेटिएको नक्सा संसद्बाट पास गर्न बाध्य भएको छ ।’
नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक रहेको महासचिव विप्लवले बताएका छन् ।
‘तथापि सरकार र संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ । हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ ।’ बिज्ञप्तिमा भनिएको छ ।
विप्लवले आमनागरिकहरूलाई पनि सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गरेका छन् । उनले देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
हामी आमनागरिकहरूलाई पनि सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गर्दछौँ । हाम्रो पार्टी देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिबद्धता स्पष्ट गर्न चाहन्छ ।’ विज्ञप्तिमा भनिएकाे छ ।