प्रहरीभित्र 'दलित सेल' खोल्न गृहमन्त्रालयलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ । कानुन न्याय तथा मानवअधिकार समितिको मंगलबार बसेको बैठकले नेपाल प्रहरीभित्र दलित सेल खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।
दलित समुदायमाथि हुने विभेद तथा घटनाको छानबिन गर्न उक्त सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए । त्यसैगरी समितिले रुकुम घटनामा बेपत्ता भएकाको खोजी तीव्र पार्न र घाइतेको नि:शुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।
जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए ।
तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । साथै घटनाका दोषीलाई निष्पक्ष तरिकाले कानुनी कारबाही अगाडि बढाउन समितिले भनेको छ । समितिमा उपस्थति गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको बताए ।