मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे निर्णय हुनसक्ने
काठमाडौँ । सरकारले कोरोनाभइरस कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न बिहीबार अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए । उनका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।
हिजै प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गरेका थिए । 'त्यो छलफलमा पनि मोडालिटी परिवर्तनको सुझाव आएको छ । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्नसक्छ’, ती मन्त्रिको भनाइ छ ।
सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ । यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए ।