सत्तारुढ दल नेकपाकै सांसदले गरे बजेटको विरोध
काठमाडाैं । सत्तारुढ दलकै सांसदहरुले सरकारले ल्याएकाे बजेटको चर्को विरोध गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसदहरुलेसरकारको आलोचना गरेका छन् ।
सांसद गजेन्द्रबहादुर महतले सरकारको बजेटलाई गुटहरुको बजेटको संज्ञा दिए । उहाँले बजेट निर्माण गर्ने क्रममा जनताका प्रतिनिनिधिसँग औपचारिक कुरा गर्ने तर शीर्षगत विनियोजनमा कर्मचारीहरुसँग मिलेमतो गर्ने गरिएको गुनासो गरे ।
उनले भने, ‘अहिलेको बजेट कर्मचारीले चलाएको बजेट छ । अहिलेको दलालले चलाएको बजेट छ । अहिलेको बजेट भित्रियाबाट चलाएको बजेट छ । अहिलेको बजेट गुटबाट चलेको बजेट छ । ’
सांसदहरुलाई सरकार गठनको बेलामा मात्रै प्रयोग गर्ने गरिएको भन्दै उनले सांसदहरुलाई बाटो खर्च दिएर घर फर्काउन समेत तर्क गरे । उनले सरकारको आलोचना बढ्दै गएकाले बजेटप्रति असन्तुष्ट भएर सरकारको आलोचना गर्नभन्दा किन आलोचना हुन्छ भन्ने अनुसन्धानमा लागेको भन्दै व्यङ्ग्य गरे ।