क्षमताको आधारमा मात्रै महिला सहभागिता बढाउनुपर्छ : मन्त्री तुम्बाहाङ्फे
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले क्षमताको आधारमा मात्रै महिलाको सहभागिता बढाउनुपर्ने बताएकी छन् ।
मन्त्रालयको आगामी वर्षको कार्यक्रम र बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिने क्रममा मन्त्री तुम्बाहाङ्फेले महिला भएकै कारण प्रतिनिधित्व बढाउनुपर्छ भन्दा पनि क्षमताको आधारमा महिला सहभागिता बढाउनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीले संविधानअनुसार नै महिलाको सहभागिता बढाउँदै जाने हो । महिलाले हक अधिकारको कुरा गर्दा आफ्नो कर्तव्यको कुरा पनि के हो भन्ने बुझ्नुपर्छ ।’
मन्त्री तुम्बाहाङ्फेले समान सहभागिताका लागि माग गर्दै गर्ला महिलाहरूले क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘महिलाले महिलासँग मात्रै होइन, पुरुषसँग पनि प्रतिस्पर्धा गर्नसक्ने हुनुपऱ्यो । यो महिलाको मात्रै मुद्दा होइन, संविधानमा गरिएको व्यवस्थाअनुसार सहभागिता नभएको अवस्था भए पनि त्यसको सुधार गर्नुको विकल्प छैन ।’