प्रचण्डकोको निर्देशनमा 'प्रधानमन्त्री ओलीको षड्यन्त्र' विरुद्ध हस्ताक्षर अभियान
केन्द्रीय कमिटी बैठकमार्फत अहिलेको समस्या हल गर्न आग्रह
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीमा सत्ता संघर्ष उत्कर्षमा पुगेको समयमा केही केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक बस्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र गरेको भन्दै यसको प्रतिरक्षामा पार्टीलाई एक ढिक्का बनाउन तथा विधि र पद्धति अनुसार चलाउन हस्ताक्षर अभियान सुरु गरिएको एक केन्द्रीय सदस्यले बताए ।
केही समय अगाडि प्रधानमन्त्री ओलीको निर्देशनमा सरकारको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन भयो। यसको प्रतिकृया स्वरूप नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा हस्ताक्षर अभियान सुरु भएको बुझिएको छ।
पार्टीलाई विधान र पद्धतिअनुसार चलाउन माग गर्दै उनीहरुले केन्द्रीय कमिटी बैठकमार्फत अहिलेको समस्या हल गर्न आग्रह गरेका छन् ।
अहिलेसम्म १०० भन्दा बढी केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरिसकेको र थप हस्ताक्षर गराएर संकलित हस्ताक्षर नेतृत्वलाई बुझाउने उनीहरुको तयारी छ । केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, विजय पौडेल, ठाकुर गैरे, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडालगायतले हस्ताक्षर अभियानको नेतृत्व लिएका छन् ।
नेकपाको विधानमा ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने उल्लेख छ । गत पुस १९ यता बैठक बसेको छैन । नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये २५ प्रतिशतले बैठकको लिखित माग गरे बैठक राख्नुपर्ने प्रावधान छ ।