पिंजडामा सपनाहरु
कहिले मेरोमा त कहिले उसकोमा
कहिले परिवार त कहिले साथीहरुको भिडमा
मादलको र खैजडीको तालमा
नाँचगान र रमाईलो रमाईरहेको थियो जीवन
तर आज,
समयले कोल्टे फेरेको छ ।
हिजो मानिसहरु चिडिया घरको झ्यालबाट
चराहरु हेर्न भिड लाग्थे
आज चराहरुले रुखको हाँगामा बसेर झ्याल भित्र लुकेको
मानिसहरु हेरिरहेका छन ।
मानिस आजभोली चरा भएका छन
चराहरु आजभोली मान्छे भएका छन ।
फरक यति चराहरुले मान्छेहरुलाई टिकट काटेर हेर्दैनन् ।
अचेल कलमहरु रोकिएका छन ।
पाईलाहरु स्थीर छन ।
आँखाहरु एकाग्र छन ।
मनहरु भयभित छन ।
रुखका पातहरु पनि स्थिर भएर हेर्दै छन मानिहरुलाई पर्खाल भित्र
बतासहरु भागिरहेका छन बस्तिबाट ।
मानिहरुले सासहरु फिल्टर गरेर फोक्सो फुलाएको देख्दा ।
भगवान मन्दिरको दैलोमा बसेर भक्त पर्खिरहेको छ ।
अल्लाह मस्जीतमा नतमस्तक भक्तको पर्खाईमा बसिहरको छ ।
बुद्धका आँखामा पनि त्रास उस्तै छ ।
चर्चमा एशु एक्लै स्तब्ध छन ।
समयसंग सबै हारे
केवल मसानघाट कहिले हारेन
प्रेतहरुको आँखामा कहिले त्रास देखिएन ।
मेरा जननीलाई
मेरा सन्तानलाई
प्रेतहरुको आँखामा डर देख्न मन छ ।
मसानघाट उज्यालो भएको हेर्न मन छ ।
सपनाहरु लाई पिजंडाबाट निकालेर खुला गगनमा उडाउन मन छ ।
बस प्रेतहरुको आँखामा डर देख्न मन छ ।
सुष्मा तिमिल्सिना