ताजा खबर राजनीति

शिक्षण पेशा छोडेर राजनीतिमा लागेका पाण्डे मुख्यमन्त्री नियुक्त

शिक्षण पेशा छोडेर राजनीतिमा लागेका पाण्डे मुख्यमन्त्री नियुक्त

नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
 
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । वाग्मती प्रदेशमा सत्तारूढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन । शाक्य अल्पमतमा परेसँगै वाग्मतीमा विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत सुरु भएको थियो । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन । उनी मुख्यमन्त्री बनेको ७१ औं दिनमै सत्ताबाट बाहिरिएकी हुन । 

पाण्डेले माओवादी, कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीका गरी कुल ५९ सांसदको समर्थनसहित बुधबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन। 

प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिए। मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान र नेकपा (एस) कृष्णप्रसाद खनालले मन्त्री पदको शपथ लिएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डे धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित भएका हुन । पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता भएका हुन । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिएका उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका हुन ।

उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।

जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।

उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन । 

यो पनि

कांग्रेसलाई पहिलो गाँसमै ढुंगाः राजेन्द्र पाण्डले भने– आलोपालो सहमति भएको छैन
 

अष्टलक्ष्मी शाक्य राजेन्द्र पाण्डे बागमती प्रदेश

विशेष