कविता – तिमी
चन्दा पराजुली
तिमी दिव्य बास्ना बन्यौ जिन्दगीमा
सदा पौडिई प्रेमको गण्डकीमा
भिजाएछ निथ्रुक्क तिम्रो झरीले
टिपी प्रेमको गीत गायो चरीले
तिमी सम्झनाको कुनै एक झल्को
तिमी प्रेमको मुलको एक भुल्को
तिमीमा कुनै वस्तु छैनन् अभाव
तिमी काव्यको एक उत्कृष्ट भाव
जुनेली निशामा कतै टल्किएझै
सलाई विना जिन्दगी सल्किएझै
लुकेको कुनै एक भित्री रहस्य
तिमी साथमा रङ्गिएको भविष्य
खुसीका कहानीहरु लेख्न बाँकी
बढाँउ कि यात्रा नथाकी नथाकी
युगौँसम्मको एउटा प्यार जस्तो
अलग्गै कुनै एक संसार जस्तो
तिमी आँउदा रागले गीत भुल्छ
तिमी मुस्किँदा प्रेमको द्धार खुल्छ
निदाऊँ कि ब्युझुँ उही चित्र नाँच्छ
यहि काखमा एउटा प्रेम बाँच्छ
यहि काखमा एउटा प्रेम बाँच्छ