कविताः उ थियो, सवैथोक थियो
पराजुली चन्दा
उ थियो, सवैथोक थियो
तर समय थिएन
आज समय रोकिएको छ
उ भन्दा उसका यादहरु वग्रेल्ती छन्
सायद समयको गती वुझेन जिन्दगीले
उ उकाली चढिरहेको थकानमा
म ओराली झरेको रुझान पनि छैन
उ जितेर हारीरहेको छ
म हारेर पनि जित्ने गन्तब्यमा छु
नशामा वगेको विश्वास
मस्तिस्कमा छरपष्ट सपनाहरु
अनि छातीमा तिनै यादहरु टाँसेर
निधारमा भाग्य खोज्दै
समुद्रबाट एक लोटा पानी झिक्न
नदीको किनारबाट यात्रा भईरहेछ
कस्तो पाठशाला उसले धर्म सम्झ्यो
मैले उसलाई आस्था सम्झाईरहे
समयको बाटामा कस्तो अन्यौल
उसले पुज्ने भगवान म पुजारी
मेरो मन्दिरमा सुरक्षित छैन
उसले सत्य पत्याएन असत्य ठानेर
मैले सत्य जे हो भनिरहे
उसको वञ्चरो मुडा ताक्छ
तर अपसोच घुँडा फोर्छ र दुख्छ मलाई
धरहरा जस्तै अग्लो रहर वोकेर
अँधेरो वस्तीलाई ज्योती छर्न
म उपस्थित छु भन्थ्यो उसले
तर बालुवामा पानी भरेर
मुस्कुराएको छ रित्तो हृदय
छड्किएको कुकरले सिठ्ठी फुक्छ
तर मन वेसरम विर्को ढकढक गर्छ
थाहा छैन प्यालामा कहिले पोखिने हो
इतिहाँसको पाना उ, म र समय।