मनोरञ्जन

कलाकारबाट हल मालिक भए दिपक र दिपा

कलाकारबाट हल मालिक भए दिपक र दिपा

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले आजबाट सिनेमा हल आजबाट सञ्चालनमा ल्याएका छन्। 

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अभिनेता हरिवंश आचार्यले उक्त मल्टिप्लेक्स हलको उद्घाटन गरे।

नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको हल आइएनआइ सिनेमाजको फ्रेन्चाइजीको रूपमा सञ्चालन गरेका हुन्। हल उद्घाटनका अवसरमा बोल्दै दीपक दीपाले नेपाली फिल्मलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

उनीहरूले नेपाली फिल्म निर्मातालाई ५० प्रतिशत सेयर दिने घोषणा पनि गरेका छन्। गिरीले अन्य सिनेमाहरूले पनि यो सूत्रलाई पछ्याउने आशा व्यक्त गरे।

राम्रो गर्दागर्दै नेपाली चलचित्रले स्थान नपाउने अवस्था नआओस् भन्नेमा आफूहरू सचेत रहने पनि उनले बताएका छन्।

हल उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कलाकारले मेहनत गरे सिनेमा हलको मालिक पनि बन्न सकिन्छ भन्ने सन्देश दीपक–दीपाले दिएको बताए। 

कोरोना महामारीपछि आर्थिक गतिविधि सुस्ताएको बेला यो फिल्म हल सञ्चालनले गतिविधि बढ्ने विश्वास ढकालले व्यक्त गरे।

स्क्रिनप्ले फिल्म्सको स्वामित्व रहेको हलमा कलाकारहरू दीपक र दीपाको पनि लगानी रहेको हो। गिरी स्क्रिनप्ले फिल्मसका अध्यक्ष समेत हुन्। उनकै फिल्म ‘छक्कापञ्जा ४’ प्रदर्शनसँगै यो हल औपचारिक रूपमा सञ्चालनमा आएको हो।

दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ। शुक्रबारदेखि नै यो हलमा एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शनमा आएका छन्।
 

विशेष