दसैं शुरु, आज घटस्थापना
असोज १५ । नेपालीहरुको महान पर्व दसैं शनिबारदेखि घरघरमा जमरा राख्दै शुरु भएको छ । अशोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासमम्म १५ दिन दुर्गाभवानीको पूजा आरधना गरि दसैं मनाइन्छ ।
दसैंको पहिलो दिन घटस्थापना गरेर शुभारम्भ गरिन्छ । यसपटक घटस्थापना गर्ने साइत बिहान ८ बजेर ३५ मिनेटमा रहेको छ । दियो, कलश र गणेशको पूजासहित विधिपूर्वक जमरा राख्ने गरिन्छ । पवित्र स्थानको माटो, बालुवा पूजा कोठा वा दसैं घरमा ल्याएर मकै, धान, गहुँ, तिललगायत अन्न छरेर जमरा राख्ने गरिन्छ ।
दुर्गामातालाई जमरा मन पर्ने भएका कारण विजयादशमीमा प्रसादका रुपमा जमरा ग्रहण गर्ने गरिन्छ । जमरालाई देवीमाताको अंगका रुपमा पनि मान्ने गरिन्छ । दसैंमा टीका लगाइसकेपछि फूलको सट्टा समृद्ध र विजयको प्रतिक जमरा लगाउने गरिन्छ ।
आजदेखि शुरु हुने दुर्गापूजा विजयादशमीमा सम्पन्न हुनेछ । जसलाई दुर्गाविर्सजनका रुपमा बुझिन्छ । दुर्गा बिसर्जनको साइत यसपटक बिहान ८ बजेर २५ मिनेटमा रहेको छ । टिकाको उत्तम साइत भने बिहान ८ बजेर ४५ मिनेटमा रहेको छ ।
यसपटक दसैंको अवधि बढेको छ । जमरा रोपेको ११ औं दिनमा विजयादशमी परेको छ । ११ दिनमा टिका लगाउन हुने नहुने भन्ने विषयमा पनि अन्यौल छ । यद्यपि मातादुर्गाको प्रसाद जुन दिन लगाउँदा पनि हुने जानकारहरुले बताउँदै आएका छन् ।
dashain starts ghatasthapana