अरुलाई दशा, भाटभटेनीलाई दसैं
असोज– १६ । केही समयअघि अखाद्य वस्तु बेचेको भन्दै चाबहिलस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर सिल गरिएको थियो । धेरै उपभोक्ताले सम्भवतः भाटभटेनीको त्यो अवैध धन्दा विर्सिसकेका छन् । अहिले त्यही स्टोरीमा उपभोक्ता खचाखच छन् ।
सरकारले सिल गरेको भाटभटेनीमा आपूर्ति मन्त्रालयको फ्लेक्स टाँगेर दैनिक उपभोग्य वस्तुमा छुट भन्दै सामान बेच्दै गरिएको छ । भाटभटेनीले दाबी गरेजस्तो छुट भने उपभोक्ताले पाउँदैनन् । भाटभटेनीको बिक्री मूल्य भन्दा सस्तो त बाहिरका किराना पसलमै पाइन्छ । दैनिक उपभोग्य वस्तुमा ब्यानरै टाँगेर भाटभटेनीले लुट मच्चाइरहँदा पनि सरकारी अनुगमन टोलीको ध्यान यसतर्फ गएको छैन ।
चाबहिलमा मात्र हैन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सबै केन्द्रहरुमा नेपाल सरकार आपूर्ति मन्त्रालयले भाटभटेनीबाट सामान खरिद गर्न आग्रह गरेको आसयको ब्यानर टाँगिएको छ । व्यानरमा लेखिएको छ ‘नेपाल सरकार आपूर्ति मन्त्रालयको बिशेष आग्रहमा दाल, चामल, तेल, नुन, चिनी, मसला, मैदा, चियापत्तिलगायतमा विशेष छुट दिइएको छ ।’
गत साउन ३१ गते आपूर्ति मन्त्रालयको अनुगमन टोलीले सस्तो खाद्यवस्तुलाई अत्याधिक मूल्यमा बेचेर कालोबजारी गरेको र डिपार्टमेन्ट स्टोरकै माथिल्लो तल्लामा मिति गुज्रिएका खाद्य सामग्रीको लेबल फेर्ने काम गरिएको भेटेपछि सिल गरेको थियो ।
अनुगमणको क्रममा सन् २०१३ सम्ममात्र खान योग्य सामग्रीमा लेबल फेर्दै गरेको भेटिएको थियो । गुणस्तरहीन र म्याद गुज्रेका मालसामान बेचेको भाटभटेनी सिल गरिएको १० दिनपछि खुलेको हो ।
दसैंमा ग्राहकहरुको चाप बढ्दो छ । ग्राहकहरुले भाटभटेनीले दसंैको छुट दिएको ठानेर किनमेल गरिरहेको भए पनि यर्थाथ त्यस्तो छैन । फ्लेक्समा लेखिएको जस्तो छुट भाटभटेनीले दिएको छैन । ग्राहक तान्न मात्र उसले छुट लेखेको स्पष्ट हुन्छ ।
सरकारको आधिकारिक लोगो भएको ब्यानरमा छुट लेखे पनि भाटभटेनीले छुट दिएको छैन । बाहिरको खुद्रा पसल, साल्ट टे«डिङ र भाटभटेनीको एउटै सामानमा फरक फरक मुल्य छ ।
सरकारको सुपथ मूल्य पसलमा चिनी प्रति केजी ७९ रुपैयाँमा बिक्री भईरहेको छ भने बाहिर बजार ८५ रुपैयाँमा बिक्री भएको छ । तर, त्यही चिनी भाटभटेनीले ८७ रुपैयाँमा बेचिरहेको छ ।
बाहिर पसलहरुमा मुंगको दाल २ सय ५ रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ । त्यही दाल भाटभटेनीमा २ सय ४८ रुपैयाँमा बिmक्री भइरहेको छ । चिनी र मुंगमा मात्र होईन सबै बस्तुहरुमा भाटभटेनीको मूल्य बढी छ ।
लुट रोक्ने फुर्सद छैन प्रचण्ड सरकारलाई आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराज रेग्मीका अनुसार भाटभटेनीका सञ्चालकसंँग बयान लिएर फाइल अगाडि बढिरहेको छ । मन्त्रालयसंँग कानुनी परामर्श अघि बढेकाले कानुनले कारबाही गर्न सिफारिस गरे कारबाही हुने उनको भनाइ छ ।
सिल गरेको स्टोरमा छुटको बोर्ड झुन्ड्याउन दिएको उनले स्वीकार गरे । उनी भन्छन् ‘बोर्डको डिजाइन हामीले गरेर दिएका हौ । तर, छुट गरेको नगरेको अनुगमन गर्न भ्याएका छैनौं । दसैंमा किनमेल गर्न सजिलो होस भनेर हामीले त्यसो गरेका हांै ।’
भाटभटेनीको जवाफ भाटभटेनी डिपार्टमेन्टभित्र खाद्य सामाग्रीका मालिक अरुण खण्डेवाल हुन् । अरुण खण्डेवाल चाबहिल भाटभटेनीमा बस्ने त्यहा कार्यरत कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुको अनुसार उनी हप्तामा एकपटक मात्र त्यहाँ आउँछन् । खण्डेवालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । –सागर बुढाथोकी
Bhat Bhateni Supermarket