स्वास्थ्य

दशैमा मासुलाई यसरी राख्नुहोस सुरक्षित

दशैमा मासुलाई यसरी राख्नुहोस सुरक्षित

goats_meat

असोज १७ । दसैंमा मासुको उपभोग धेरै नै हुने गरेको छ । एकैपटक धेरै मासु पकाउनुभन्दा पनि मासुलाई साना–साना पोका बनाएर फ्रिजमा राखी आवश्यक मासु मात्र पकाउन सकिन्छ । त्यस्तै मासु एकैपटक पकाएर राख्ने चलन पनि छ । यस्तो अवस्थामा एक–दुई दिनसम्मको मासु मात्र खानु उपयुक्त हुन्छ । पकाएको मासु चिसो भएपछि भाँडाको बिर्को लगाएर बन्द गरी फ्रिजमा राख्नुपर्छ । त्यसपछि चाहिने जति मात्र निकाल्ने र तताउने । मासुलाई तताउने–चिस्याउने गरिरहँदा त्यसको स्वाद बिग्रनुका साथै किटाणु पनि वृद्धि हुन्छ । अहिले बिजुलीको समस्या छ । त्यसैले फ्रिजमा सञ्चय गर्दा पनि मासु बिग्रन सक्छ । बिग्रिएको मासु खाए झाडापखाला लाग्ने, अपच हुने तथा पेट दुख्ने आदि हुनसक्छ ।

मासु पकाउँदा

मासुलाई एकैपटक तेल, बेसार, नुन, मसला मोलेर मन्द आँचमा पकाउन सकिन्छ । एकपटक प्रयोग गरिएको तेल अर्को पटक प्रयोग गर्नुहुँदैन । स्वस्थ मानिसले पनि धेरै मासु खाए हानी हुन सक्छ । दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ । मासुलाई उसिनेरभन्दा पनि बफ्याएर पकाउन सकिन्छ ।

मासुलाई सुख्खा किसिमले फ्राइ गरेर भाँडाको तल रहेको चिल्लो फालेर खान सकिन्छ । चिल्लो, पिरो तथा मसला कम हालेर पकाइएको मासु स्वस्थ हुन्छ । मासुलाई १ सय डिग्रीभन्दा बढी तापक्रममा पकाउनुपर्छ ।

मासुको विकल्प

दसैंलाई मासु खाने चाडका रूपमा लिइन्छ । हुन पनि यो समयमा सबैजसोको घरमा मासु पाक्छ । शाकाहारीले दसैंमा मासुको विकल्पका रूपमा मसरुम, पनीर, गेडागुडी, सागपात, दूध, मिठाईं आदि खान सक्छन् । यसैगरी भटमास तथा त्यसको उत्पादन पनि प्रोटिनका राम्रा स्रोत हुन् । तोफु तथा न्युट्रेला खाँदा पनि पर्याप्त प्रोटिन प्राप्त हुन्छ ।

स्वस्थ मासु

चाडपर्वमा मासुको खपत बढी हुन्छ । यस्तो बेला बेचबिखन गरिएका पशुपंक्षी कत्तिको स्वस्थ छन् ध्यान र्पुयाउनु आवश्यक छ । मासु काट्ने ठाउँ सफा छ–छैन हेर्नुपर्छ । काँचो मासु खानुहुँदैन ।

सावधानी

मासुलाई सेकुवा बनाएर खाने चलन छ । सामान्य समयमा पनि सेकुवा खाने ट्रेन्ड बढ्दो छ । पोलेको मासु तथा सेकुवा धेरै खाँदा पेट र आन्द्रासम्बन्धी क्यान्सर हुने सम्भावना वृद्धि हुन्छ किनभने यस्तो मासुमा कार्सिनोजेनिक नामक तत्व समावेश हुन्छ ।

Fresh Meat

विशेष