आमा, तुइनबाट त्रिशूलीमा झर्छु जस्तो लाग्छ, स्कुल जान्न ल ?
असोज १७ । गोर्खाको हुल्डिङबेसी गाउँका बालबालिकाको स्कुल धादिङमा पर्छ । स्कुल र गाउँलाई जिल्लाको सिमाले मात्रै होइन, ठूला ट्रक नै बेपत्ता हुने त्रिशुली नदीले पनि छुट्टयाएको छ । हुल्डिङबेसीका बालबालिकाका लागि त्रिशुली नदीमा पुल छैन । पुल नभए पनि कोक्रोबिनाको तुइनमा झुन्डिँदै बालबालिकाहरु दिनहुँ स्कुल–घर गर्छन् । कोक्रोबिनाको तुइन तर्दा हात लठ्ठाबाट खुस्कियो भने ज्यान सोझै नदीमा खस्छ । कोक्रोसहितको तुइन कम जोखिमयुक्त मानिन्छ ।
सात देखि बाह्र वर्ष उमेरका देखिने बालबालिकाले तुइन यात्राको गाह्रोसाह्रो आफ्नै शैलीमा सुनाए ।
कक्षा सातमा पढ्ने राममाया चेपाङले भनिन्, ‘घरदेखि स्कुलसम्म पुग्न डेढ घण्टा लाग्छ । तुइन नतरी पुल भएठाउँ जाँदा त झन बढी लाग्छ । स्कुल चाँडो पुगिन्छ कि भनेर तुइनमा झुन्डिन्छौं ।’
राममाया धादिङको शंखादेवी उच्च मावि जोगीमारामा पढ्छिन् । दिनहुँ तुइन चढ्नै पर्ने बाध्यता छ । ‘आज तुइनमा तर्न सकिन्छ कि सकिन्न भन्ने कुरा खेलाउँदै स्कुल जानु पर्छ । फर्किँदा पनि त्यस्तै हुन्छ ।’ उनले भनिन् ।
तुइन कत्तिको सुरक्षित छ त ? राममायाको उमेरकै कारण पनि स्पष्ट छ कि उनलाई तुइनबाट को–को त्रिशुलीमा झरे विगतका घटना थाहा छैन । कम उमेरमै पनि तुइनबाट मान्छे खसेको राममायाले धेरैपटक सुनिसकेकी रहिछन् । उनले भनिन्, ‘कति धेरै मान्छे खसिसके ।’
राममायासंँगै सरीता चेपाङ पनि स्कुल जान्छिन् । दुवैको व्यथा उस्तै छ । सरीतालाइ पढ्न जान मन लाग्दो रहेछ । तर उनी तुइन चढ्न डराउँछिन् । उनले भनिन्, ‘ठूला मान्छे त झर्दा रैछन्, हामी त साना छौं । कति त झरेर मरेछन् ।’
राममायाले केही विद्यार्थीले तुइनकै डरले स्कुल छाडेको बताइन् । ‘आमा तुइनबाट नदीमा झर्छु जस्तो लाग्छ । मलाइ डर लाग्छ । स्कुल जान्न ल ? ’ यस्ता प्रश्न गर्ने धेरै छन् हुल्डिङबेसीमा । आफ्ना सन्तानका यस्ता प्रश्न सुनेपछि कुन बाबुआमालाई छोराछोरीको ज्यान दाउमा राखेर स्कुल पठाउन मन लाग्दो हो ?
अधिकाशं हुल्डिङबेसीका अधिकांस चेपाङ परिवार गरिब छ । आर्थिक दुरावस्था मिल्दोजुल्दो छ ।
आठ वर्षकी सरस्वती चेपाङ कक्षा दुईमा पढ्छिन् । सहरबजारमा यो उमेरका बालबालिकालाई लिन स्कुलको बस घरै अगाडि आइपुग्छ । आठ वर्षका यस्ता अवोध बालबालिका तुइन चढेर डेढ घण्टा हिँडेर स्कुल जान्छन् ।
बालबालिका घर नफर्कुञ्जेल आमाबुबाको मन कसरी अडिदो हो ?
तुइन पुरानो भएपछि खिला लागेको छ । धातुको लठ्ठा तान्दा कलिला हातमा ठेला उठ्छन् । घाउ पनि हुन्छ । कहिलेकाहीँ औला किचिन्छन्् । औंला किँचिदा सहन सकेन भने डोरीबाट हात छुट्छ । तुईनबाट शरिर । किचिएको औंला, ठेला उठका हातमा उस्तै परे शिक्षकले पनि सिर्कनाले हिर्काउँछन् ।
त्रिशुली नदीका अधिकांश तुइन जिर्ण अवस्थामा छन् । जीवनसँग जोडिएको तुइनको लठ्ठामा खिया लागेको छ । त्यो भन्दा महत्वपूर्ण त धेरै जसो तुइनमा कोक्रो छैन ।
हुल्डिङबेसीका बालबालिकाको जोखिम तुइन तर्दैमा सकिँदैन । पृथ्वीराजमार्गमा एकपछि अर्को गर्दै आउजाउ गरिरहने सवारी साधनले कलिला मान्छेको, कलिलो मनमा टलपल टलपल भएर बसेको सातो छिनछिनमै उडाएर लैजान्छ । एक तमासले हुँइकिने ठूलो आकारका बस ट्रकको हावाले उडाउला जस्तो गर्छ ।
स्कुलमा यी बालबालिकाले छ घण्टा बिताउनु पर्छ । पैदल जाउ आउ गर्दा थप तीन घण्टा । गलेको शरिर, पट्यारलाग्दो सरकारी स्कुलको बेढंगको सिकाइपद्धतिले लठ्ठीएको दिमाग र भोको पेटमा बालबालिका घर पुग्छन् ।
न समयमा खान पाउँछन् । न सजिलो बाटो छ । नत सरकारी स्कुलको गतिलो पढाइ । बालखैदेखि यस्तो अभाव, दबाब र तनाब झेल्नु पर्ने बालबालिकाले स्कुलमा कति नै सिक्लान जीवनोपयोगी शिक्षा ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले तुइन विस्थापन गर्ने बताएका थिए । केपी ओलीले त आफ्नो पहिलो घोषणामै तुइन विस्थापित गर्छु भनेका थिए । एउटा प्रधानमन्त्रीले शुरु गरेको काम अर्कोले निरन्तरता दिने चलने खासै छैन हाम्रो देशमा । तुइन विस्थापन गर्ने कुरासँग यी बालबालिकालाई खासै मतलव छैन । किनभने काठमाडौंमा बन्ने योजनाले यीनीहरुको जीवनमा परिवर्तन नआएसम्म त्यस्ता भाषणबाजीको के अर्थ ?
त्रिशुली नदी क्षेत्रमा बसोबास गर्ने गोर्खा, धादिङ जिल्लाका धेरैका लागि अझै पनि नदी तर्ने विकल्प तुइन मात्रै हो । सबैभन्दा आपत् त तब पर्छ जब गाउँमा कोही सिकिस्त बिरामी हुन्छ । वा गर्भवती महिलालाई अस्पताल लैजानु पर्ने हुन्छ । त्यो बेला तुइन निल्नु न ओकल्नु हुन्छ ।
उनीहरु ज्यान जोखिम राखेर स्कुल जान बाध्य छन् । देख्दै कहालीलाग्दो त्रिशुली नदी ज्यान हत्केलामा राखेर तर्नु उनीहरुको बाध्यता हो । यो एकदिन देखिने दृश्य होइन, दैनिकजसो उनीहरु जाखिम मोलेर स्कुल जान बाध्य छन ।
गोरखा जील्लाको हुल्डिङबेसी गाउँमा स्कुल छैन । उपचारका लागि स्वास्थ्य चौकी पनि छैन । किनमेल गर्न पनि त्रिशुली तरेर धादिङ नै पुग्नुपर्छ ।
प्रस्तुतिः सागर बुढाथोकी
rural student problem tuin in dhading