महंगो रक्सी खाएको फूर्ति लगाउँदैमा केही हुँदैन, महंगो वा सस्तो सबै रक्सीले लिने ज्यानै हो
असोज । ‘फाइभस्टार होटलमा लाखौं पर्ने मदिरा होस् या भट्टीमा पाईने १० रुपैयाँको लोकल झोल, मदिरा भनेको मदिरा नै हो । ढिलो चाँडो मदिराले लिने भनेको ज्यानै हो । मदिराको फाइदा भन्दा बेफाइदा नै बढी हुन्छ । ’ मृगौला रोग विशेषज्ञ डा. ऋषिराज काफ्लेले मदिराको बैगुन शुुरुमा नै सुनाए । मदिराको गुण भन्दा बैगुन धेरै भएको जान्न डाक्टरको सल्लाह लिइराख्नु पर्छ भन्ने छैन । अत्यधिक मदिरा सेवन गर्नेहरुको जीवनशैली हेर्दा मदिराको बैगुन थाहा पाउन सकिन्छ ।
पश्चिमी सस्कृतिमा जस्तै नेपाली समाजमा पनि मदिरा सेवन सस्कृतिको रुपमा विकसित हुँदै गएको छ । जसका कारण नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको ब्रान्डको मदिरा भित्रने क्रम बढ्दो छ । घरमै बनाएको मदिरा खान बानी परेका नेपालीहरु अचेल विदेशी मदिरामा पल्केका छन् ।
मदिरा पिउँन कुनै अवसर चाहिँदैन । प्रायः मानिसहरु खुसी हुँदा मदिरा पिउँछन् । दुःखमा पनि मदिरा, साथीभाई जमघटमा मदिरा, शुक्रबार त गुड फ्राइडेनै भइहाल्यो । आकाशमा बादल मडारिँदा होस् वा या चिसो बढी हुँदा वा झमझम पानी पर्दा । मदिरा हरेक क्षण जीवनशैलीका रुपमा स्थापित भएको छ ।
प्रेम सफल भएको विवाह पार्टीदेखि ब्रेक अपको पीडा भूलाउन पनि रक्सी साथी बन्ने गर्छ । तर यो साथी धोकेबाज साथी हो । किनभने यसले एकछिनको पीडा भूल्याउन मद्यत गरेर जीवन नै छोटो बनाउने भूमिका खेल्छ ।
मदिराप्रेमीहरुका लागि दसैं उत्कृष्ट समय हो । किनभने यो दसैंमा मदिरा सेवनलाई घरपरिवार र समाजले पनि केही छुट दिन्छ । यो छुट कहिलेकाहिँ धेरै महंगो बनेर व्यक्ति, परिवारको जीवनमा बजारिन्छ ।
डाक्टर ऋषिराज काफ्लेका अनुसार मदिरा लतले मान्छेको जीवन नै बर्वाद पार्छ । प्रसिद्ध गायक खेमराज गुरुङ र गिटारिस्ट सुनिल बर्देवा मदिराको कारणले अल्पायुमै बितेका घटना हाम्रो सामु ताजै छन् । त्यो अघि गायक अरुण थापा, नारायण गोपालआदिको मृत्युको कारण मदिरा बन्यो ।
उनीहरुको मृत्युको प्रमुख कारण मदिराको असरले कलेजोले काम नगर्नु हो । डाक्टर काफ्ले भन्छन्, ‘मदिराले कलेजोको रोग मात्र होइन मिर्गौला, हृदयघात, उच्च रक्तचाप, सुगरजस्ता घातक रोग निम्त्याउँछ । जसले गर्दा मानिसको अल्पायुमा नै मृत्यु हुन्छ । मदिरा जस्तै चुरोट सेवन पनि स्वास्थ्यको लागि घातक हुने कुरा विश्वव्यापी रुपमा प्रमाणित भईसकेको छ ।
डाक्टरहरुका अनुसार धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ । ‘दसैं हो’ भनेर जथाभावी मद्यपान गर्दा सुगर र प्रेसरको समस्या बढ्न सक्छ । रक्सीको सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ । जुन स्वास्थ्यको लागि घातक हुन्छ ।
नेपाली समाजमा मदिरालाई ‘नाइ’ भन्न नसक्नेहरुको जमात धेरै छ । त्यसैले आफुले भन्दा पनि रक्सीले आफुलाइ नखाओस भन्ने तरिकाले रक्सी खानुपर्ने डाक्टर काफ्ले बताउँछन । भन्छन्, ‘सकेसम्म मदिरा नखाकै राम्रो, तर समाजमा घुलमिल हुनको लागि थोरै खादा त्यस्तो घातक असर गर्दैन ।’
अत्यधिक मदिराको सेवनले शरिरमा विभिन्न रोग लाग्ने निश्चित भएको डाक्टरहरुले भन्दै आएका छन् । उच्चवर्गका मानिसहरु महंगो मदिरा खाँदा शरिरमा केही असर नगर्ने बताउँदै महंगो पैसा तिरेर मदिरा खान्छन् । तर डाक्टर काफ्ले भन्छन् ‘मदिराले घातक असर गर्छ । कति र निरन्तरता अनुसार त्यसको असर पनि फरक पर्छ । असर नपर्ने भन्ने होइन ।’
डाक्टरहरुको अनुसार मदिराले रोग निम्त्याउँछ । धेरै खाने बानी परेकाहरुको खल्ति रित्याउँछन् । नियमित मदिरा खाने मान्छेहरुलाई समाजमा पनि राम्रो पनि मानिदैनँ । त्यसैले त डाक्टर काफ्ले भन्छन् ‘मदिराले रोगी र जोगी बनाउँछ । किनकी यो घातक छ । सस्तो होस या महंगो विष भनेको विष हो ।’ दसैंमा कसैले पनि विष अत्यधिक सेवन नगरोस् । किनकी दसैं दशामा परिणत हुने मुख्य कारणमा मदिरा पनि पर्छ । –सागर बुढाथोकी
alcohol is dangerous to health alcohol kills