आइसीसीले लामाे समयपछि सल्लाहकार समिति गठन गर्याे, सदस्यमा को को परे ?
असोज १९ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि सल्लाहकार समिति गठन गरेको छ । आइसीसीले मंगलबार राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गर्दै ६ सदस्यीय समिति गठन गरको जानकारी गराएको हो ।
खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेलको संयोजकत्वमा गठित सल्लाहकार समितिमा नेपाल क्रिकेटसंघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, व्यवसायी बसन्त चौधरी, राष्ट्रिय टिमका पूर्व कप्तान पवन अग्रवाल, पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला र दीपक साउँद रहेका छन् ।
विवाद समाधान गर्न आएको आइसीसी कार्यकारी सहितको टोलीले गएको भदौ १९ गते पत्रकार सम्मलेन गरी दुई साताभित्र सात सदस्यीय टोली गठन गर्ने घोषणा गरेको थियो । यद्यपि, समिति ढिलो गरी गठन भएको हो ।
एक महिनामा मात्रै टोली गठन भएको जानकारी आएको हो । राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले आइसीसीले टोली गठन भएको जानकारी व्यक्तिगत रुपमा पठाएको बताए । उनले भने, ‘त्योसँगै समितिको कार्य्विधि र क्षेत्राधिकार समेत उल्लेख गरेर पठाएको छ ।’ अहिले छ समिति सदस्यीय भनिएको छ । पछि राखेपको एक जना प्रतिनिधि थप्न सक्ने कुरा छ ।
आइसीसीले सल्लाहकार समितिलाई विवाद समाधान गरेर नयाँ बाटो खोल्न र अब क्रिकेट कोर्ड गठनका लागि पूर्ण जिम्मेवारी दिएको छ । समितिले क्रिकेटसँग सम्बन्धित सबै पक्षसँग छलफल गरेर नयाँ बाटो अपनाउने काम गर्नेछ । गएको भदौमा आइसीसीका प्रमुख कार्यकारी सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर क्रिकेट बोर्डको अवधारणामा जाने सहमति जनाएको थियो ।
प्रधानमन्त्रीसंगको भेटमा खेलकुद मन्त्री दलजित श्रीपाइलीले स्वतन्त्र बोर्ड गठन गर्ने प्रस्ताव गरेपछि आइसीसी प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशन नेतृत्वको टोली सहमत हुँदै क्यानलाई लागेको प्रतिबन्ध फुकुवा गर्न सकारात्मक बनेको थियो । यद्यपि, क्यानको विवादकैबीच सर्वोच्चमा परेको रिटको अझै सुनुवाई भएको छैन ।
can
Cricket
ICC