समाज

जवान छोरीलाई होस्टल पठाउंदै हुनुुहन्छ, यसाे गर्नुहोस

जवान छोरीलाई होस्टल पठाउंदै हुनुुहन्छ, यसाे गर्नुहोस

stydy म पनि कुनैबेला छात्रावासमा बसेर पढ्थें । महिला छात्रावासको त्यो स्वर्णिम क्षण अझै पनि मेरो आँखामा घुमिरहेको छ । आज म आमा भएकी छु । अहिले मेरी छोरी मेडिकल क्यारियरका लागि विदेश जाँदैछिन् । मेरी छोरी छात्रावास जाँदा मलाई लाग्यो, छोरी बाहिर जानु आमाहरूका लागि पीडादायक क्षण हो । मेरी छोरीजस्तै अरूका छोरी पनि छात्रावासमा जाने तरखर गर्दै होलिन् । यस्तो बेलामा एउटी आमाको मनमा के हुन्छ, त्यो म बुझ्छु । वास्तवमा छोरीलाई छात्रावासमा राखेर मात्र आमाको कर्तव्य पूरा हुँदैन, छात्रावासको वातावरणका सम्बन्धमा पनि राम्रो जानकारी दिनुपर्छ । छात्रावासमा पढ्ने छोरीकी आमाको ठूलो दायित्व हुन्छ । यो जिम्मेवारीमा खरो उत्रन सक्नु नै आमाको परीक्षाफल हो ।

हिँजोआज तुलनात्मक रूपमा छात्रावासको वातावरण केही बिग्रिएको छ । अत्याधुनिक सोचले आजका युवाहरूलाई गाँजेको छ । नयाँ विद्यार्थी देख्नेबित्तिकै पुराना विद्यार्थीले र्याकिङ गर्ने, अनावश्यक तनाब दिने कुरा सामान्य हुँदै गएका छन् । त्यतिमात्र होइन, नयाँ सहरको वातावरण, नयाँ स्थानको भाषा, सोच र परिवर्तनले छात्रावास जाने विद्यार्थीको दिमाग नै खल्बलिन सक्छ । खानेपानी तथा वातावरण परिवर्तनले नयाँ मानिस बिरामी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यसो भन्दैमा छोरीलाई आधुनिक शिक्षाबाट बञ्चित गर्न मिल्दैन । अरूका छोराछोरीजस्तै तपाईंका छोराछोरीले पनि छात्रावासमै बसेर अध्ययन गर्नुपर्छ । आजभोलिका छात्रावासहरू व्यवस्थित र सुविधायुक्त हुने भएकाले पनि चिन्ता गर्नुपर्ने अवस्था छैन । बरु अन्य केही कुरामा ध्यान र्पुयाउनु आवश्यक हुन्छ ।

आमाको भूमिका

तरुनी भैसकेकी छोरीसँग तपाईंले गर्ने व्यवहार कस्तो छ, छात्रावास जान लागेकी छोरीका लागि महत्त्वपूर्ण हुन्छ । छोरीले यदि तपाईंलाई युवावस्थाको साथी सम्झन थालेकी छिन् भने उनी छात्रावास जाँदा केही भैहाल्ला कि भन्ने चिन्ता गर्नुपर्दैन । कारण केही हुनेबित्तिकै उनले फोन, इमेल वा चिठीमा सबैकुरा गर्नेछिन् । आमाहरू आफ्ना छोरीले हरेक कुरा भनुन् भन्ने चाहन्छन, यसका लागि छोरीसँग मानसिक रूपमा नजिक हुनु आवश्यक हुन्छ । हाम्रो समाजमा छोरी हुनेबित्तिकै हुकुमी शासन चलाउने प्रचलन छ । छोरीलाई अर्काको घरमा जाने जात भनेर घरमै सीमित राखिन्छ र टाढा पठाइँदैन, अनावश्यक कुरामा शंका गरिन्छ । यसले छोरीलाई घर पनि जेलजस्तै लाग्न थाल्छ । यस्ता छोराछोरी आमाबुवाबाट सकभर टाढा हुने, कुरा गर्दा झर्किएर बोल्ने, अह्राएको काम नगर्ने खालका हुन्छन् । यस्ता छोराछोरीले होस्टेलमा गएपछि के गर्छन् भन्न सकिन्न । त्यसको जानकारी आमाबुवासम्म नआउन पनि सक्छ । त्यसैले पनि आमा छोरीप्रति भावात्मक रूपमा नजिक हुनुपर्छ ।

पत्र व्यवहार एउटा सरल माध्यम

नियमित रूपमा पत्र व्यवहार गर्नुहोस् । सुरुका दिनमा पत्र, फोन वा इमेलको संख्या निकै बढ्छ र पछि–पछि यो संख्या कम हुँदै जान्छ तर त्यसो नगर्नुहोला । सकभर महिनामा दुईपटक फोन, एकपल्ट पत्र पठाउन नबिर्सनुहोस् । पत्रमा स–साना कुरा पनि लेखेर पठाउनुहोस् । छोरीका साथी, आफन्तलाई पनि पत्र लेख्न आग्रह गर्नुहोस् । पत्रमा सधैभरि उत्साहले भरिपूर्ण कुरा मात्र लेख्नुहोस् । घरमा पैसाको समस्या छ भन्ने कुरा त लेख्नुहोस्, तर उनलाई दिक्क लाग्ने रोदन भरेर नपठाउनुहोस् । यसले उनमा भएको पढ्ने जाँगर पनि मरेर जान्छ । आजभोलि मोबाइलको सुविधा भएकाले तपाईंकी छोरीसँग पनि मोबाइल हुनु सामान्य हो । तर मोबाइलको दुरुपयोग रोक्न पनि पत्रलाई नै साथी बनाउन सक्नुहुन्छ ।

सशक्त बनाउने प्रेरणा दिनुहोस्

अहिलेसम्म तपाईंले आफ्नी छोरीको कमीजोरीलाई राम्रोसँग बुझिसक्नुभएको होला । उनका के कस्ता कमी–कमजोरी छन्, छात्रावास जानुअघि र फोनमा पनि जानकारी दिइराख्नुहोस् । तर यस्तो जानकारी उनलाई चित्त नदुख्ने तरिकाले दिनुपर्छ । यस्तै किशोरावस्थामा हुने स्वास्थ्य समस्याका बारेमा पनि जानकारी दिनुहोस् । जस्तै मासिक धर्म हुनुपूर्व नै प्याड किन्न लगाउने, टाउको दुख्ने, पेट दुख्ने किशोरीहरूका लागि औषधी किनेर राख्न लगाउने वा किनेर पठाइदिने । राम्रा छात्रावासमा एकजना भिजिटिङ डाक्टरको व्यवस्था गरिएको हुन्छ, त्यस्ता डाक्टरसँग परामर्श गरिरहन उनलाई सुझाव दिनुहोस् ।

पूर्व तयारीको अवस्था

छात्रावास जानुपूर्व छोरीलाई त्यहाँ जान मानसिक रूपमा तयार गर्नु आमाको कर्तव्य हो । कलम र कपी लिएर उनलाई साथमा राखेर आवश्यक सामानहरूको लिस्ट बनाउनुहोस् । ओछ्यान, पर्दा, पहिरन (क्याम्पस भित्र लगाउने र घुम्न जाँदा लगाउने) पुस्तकहरू, बत्ती, तेल, घडी, चक्कु, ताला, चाबी, कुचो, केही काँटी, हतौडा सबै कुराको व्यवस्था गरेर पठाउनुहोस् । खाना छात्रावासमै खाने व्यवस्था भए पनि कहिलेकाहीँ आफ्नै कोठामा चिया–कफी बनाएर खान मनलाग्छ, त्यसका लागि पनि तयारी गरेर पठाउनुहोस् ।

छात्रावासमा सावधानी

उमेर पुगेकी छोरी घरबाहिर निस्कँदा आमालाई चिन्ता लाग्नु स्वाभाविक नै हो । तर केही कुरामा सावधानी अपनाउनेबित्तिकै त्यो चिन्ता स्वत हटेर जान्छ । जस्तो सुत्दा ढोका राम्रोसँग बन्द गर्ने बानी बसाउनुहोस् । पैसा जताततै खुल्ला राख्ने बानी परिवर्तन गर्नु आवश्यक छ । किनभने परदेशमा पैसा भन्दा ठूलो साथी अर्को हुँदैन । आफ्नो जिम्मामा आएको काम आफै गर्ने, अरूमाथि पूर्णरूपमा भरोसा नगर्ने जस्ता बानीको विकास गर्नुपर्छ ।

स्थानीय अभिभावकको खोज

घरबाट टाढा भएको बेला छोरीहरूलाई घरको याद आउँछ । यस्तो बेलामा स्थानीय अभिभावकले घरको तिष्णा मेट्ने काम गर्नसक्छन् । त्यसैले छोरीलाई त्यस्तो स्थानमा छात्रावासमा राख्नुहोस्, जहाँ तपाईंका आफन्तहरू बसून् । व्यावसायिक साथीहरू, श्रीमान् वा माइतीतिरका साथीहरू, नातेदारहरू वा पेसागत नातेदार जो भए पनि केही फरक पर्दैन । तर यस्ता मानिसहरूको व्यवहार भने सफा हुनुपर्छ । भेटघाट गर्न जाँदा उनीहरूले अपरिचित व्यक्ति दुस्ख दिन आएजस्तो नमानून् । विशेषगरी चाडपर्वका बेलामा कलेज पनि छुट्टी हुने तर घर पनि आउन नभ्याउने अवस्थामा स्थानीय अविभावकको आवश्यकता पर्छ ।

नयाँ साथी बनाउन सल्लाह

जति धेरै साथी भयो, तपाईंकी छोरीको अध्ययन र छात्रावासको बसाइ उति नै सरल हुन्छ । त्यसैले उनलाई बढीभन्दा बढी साथी बनाउने सल्लाह दिनुहोस् । साथी बनाउने सबैभन्दा सरल उपाय भनेको अरूको कुरालाई महत्व दिनु हो । अरूको कुरामा महत्त्व दिँदा उनका बारेमा धेरै कुरा थाहा पाइन्छ । यो एकप्रकारको ज्ञान पनि हो । एकैपल्ट नयाँ कुराको जानकारी पनि हुन्छ भने साथी पनि भेटिन्छ । नयाँसाथी छात्रावास जीवनको उपलब्धि पनि हो ।

पकेट खर्चको सीमा

छोरीको खर्च गर्ने शैली कस्तो छ ? यसबाट पनि उनको मनोविज्ञान थाहा हुन्छ । यदि उनीे छुट्याइएको भन्दा कम खर्चमै आफ्नो जीवन चलाउन सक्षम छिन् भने उनी धेरै सोझी केटी हुन् । तर आफूले दिएको पकेट खर्च पनि सकिँदैन, तर उनी नयाँ–नयाँ फेसन गर्छिन्, रेस्टुराँ भने उनको क्रियाकलाप शंकास्पद छ । पकेट खर्च दिँदा पुग्ने गरी खर्च दिनुपर्छ । तर त्यसो भन्दैमा बढी पैसा दिनुपर्छ भन्ने होइन । किनभने छात्रावास जानु भनेको घुम्न निस्कनु होइन, न त छात्रावास कुनै होटल नै हो । छात्रावास विशुद्ध ज्ञान आर्जका लागि गइन्छ, क्यारियर निर्माणका लागि गइन्छ । यो कुरा छोरीलाई राम्ररी सम्झाउनुपर्छ ।

धैरै माया गर्नु पनि राम्रो होइन

छोरी तपाईंबाट टाढा छिन् । तर यही कारण उनका सबै नखरा र माग पूरा गर्नुपर्छ भन्ने छैन । एउटा सीमासम्म उनका माग जायज हुन सक्छन्, तर सबै माग पूरा गर्दै जाने हो भने घरको आर्थिकस्थिति नै बिग्रन्छ, साथै छोरीको बानी पनि खर्चालु हुन्छ । छोरीको क्यारियर बनाउन छात्रावास पठाउँदै हुनुहुन्छ, तर त्यही छात्रावासमा गर्ने खर्चका कारण छोरीको बानी बिग्रियो भने त्यसको दोषी पनि तपाईं नै हुनुहुनेछ ।

परिवर्तन राम्रो कुरा होइन

आजभोलि धेरै कलेज खुलेका छन्, छात्रावास पनि धेरै छन् । हरेकले आफ्नो सेवा नै राम्रो भन्ने विज्ञापन गरिरहेका हुन्छन् । सानो कुरामा चित्त नबुझ्नेबित्तिकै क्याम्पस वा छात्रावास परिवर्तन गर्नु राम्रो होइन । अर्को कुरा एउटा छात्रावासमा बसेपछि धेरै साथी बन्छन्, एक–अर्कामा सहयोग आदान–प्रदान हुन्छ । छात्रावास परिवर्तन गर्ने्बित्तिकै धेरै कुरा सुरुदेखि नै गर्नुपर्ने हुन्छ ।

आजभोलि ब्वाय फ्रेन्ड बनाउने चलन निकै बढेको छ । यो चलनले तपाईंकी छोरी पनि अछुतो नहुन सक्छिन् । त्यसो त कुनै केटा साथी बन्नु अहिलेको जमानामा नराम्रो कुरा होइन, तर उनलाई के बुझाउन जरुरी हुन्छ भने, छात्रावास विशुद्ध शिक्षाका लागि गइन्छ, प्रेम गर्न, घुम्न, सिनेमा हेर्न वा रोमान्सका लागि गइँदैन । क्यारियर बनिसकेपछि यी सबै कुरा प्रकृतिप्रदत्त कुरा हुन् । कुनै पनि काम समयभन्दा अगाडि गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो ।

ladies

विशेष