धर्मले भन्छ –काम क्रोधलाई बलि देऊ
असोज २२ । दसैंमा देवीका शक्तिपिठहरुमा बलि दिने प्रथा पछिल्लो समय विवादमा पर्दै आएको छ । शक्तिपिठहरुमा सप्तमी, अष्टमी र नवमीमा बढि संख्यामा पशुबलि दिने गरिन्छ ।
भाकलका रुपमा, देवीका गणहरुलाई खुसी पार्न र चलिआएको चलनका रुपमा पशुबलि दिने गरिन्छ । यस्तो चलन धार्मिक नभएर सांस्कृतिक मात्रै भएको कतिपय धर्मशास्त्रीको भनाइ छ । पशु अधिकारकर्मी र धर्मशास्त्रीहरु पशुपंक्षीको बलि दिने प्रचलन उचित नभएको बताउँछन् ।
शक्तिपिठहरुमा हाँस, कुखुरा, परेवा, बोका,भेडा, राँगा आदि बलि दिने चलन छ । डा. चिन्तमणि योगीका अनुसार बलि भनेको आफूभित्र रहेको काम,क्रोध,लोभ,मोह र मतलाई त्याग्नु हो । तर केही मानिसले अर्थ नै नबुझी पञ्चदोषको बली दिनुको साटो पञ्चदोषको प्रतिकको बलि दिन थालेका हुन् । पञ्चदोषको सट्टा पाँच प्रकारका पशुपंक्षीको बलि दिन थालिएको हो । पञ्चदोष अन्तर्गत कामवासनाको प्रतिक हाँस, क्रोधको प्रतिक भेडा, लोभको प्रतिक कुखुरा, मोहको रुपमा परेवा तथा मतको रुपमा राँगाको बलि दिने गरिन्छ ।
डा. योगीका अनुसार परापूर्वकालमा हिन्दू संस्कृतिमा प्रतिकात्मक शिक्षाको ठूलो महिमा रहेको र त्यति बेला पनि त्यसै अनुसार बलि दिने प्रथाको शुरुवात भएको हो । मानिसहरुले पञ्चदोषको प्रतिकको रुपमा पशुबलि दिने चलन नै बसेको योगीले बताए ।
बलिको दार्शनिक अर्थ हुन्छ उपहार । उपहारमा फलफूल चढाउनु तथा समर्पण गर्नु बलि हो । तर अहिले बलिलाई हिंसासँग जोडिएको छ । काम र क्रोध मानव जीवनका अमंगल भावनाहरु हुन् । जसलाई यी दुईलाई बलि दिएर जीवन सुखमय पार्न शास्त्रले मानवजातिलाई सिकाएको छ । तर यस्तो अन्तर्यलाई तोडमोड गरिएको छ ।
योगी भन्छन्, ‘जो मानिस आफ्नो जीवनमा सफलता प्राप्त गर्न चाहन्छ उसले प्राणी हत्या कहिल्यै गर्नु हुँदैन । जसले जीवात्मालाई प्रेम गर्छ, त्यो व्यक्ति नै असल हुन सक्छ । हत्या गर्ने हत्यारा हो । कसैको हत्या गर्ने मानिस कसरी ठीक हुन सक्छ ?’
यदि बलि दिनै पर्छ भने पशुपंक्षीको सट्टा नरिवल, स्याउ, लौका, घिरौलाको दिन सकिन्छ । दसैं मनोरञ्जनात्मक र बलि दिने चाड होइन । दसैंमा त शक्ति स्वरुपा नवदुर्गामाताहरुको उपासना हुन्छ । उपासना सकिएपछि जमरा प्रसाद ग्रहण गरिन्छ ।
यसकारण दसैंमा हत्या जस्तो जघन्य अपराध गर्नु हुँदैन । धर्मशास्त्री भवानीप्रसाद खतिवडाका अनुसार परापूर्वकालमा पूर्खाहरुले आफ्नो जीवन रक्षाका लागि विभिन्न जनावर मारेर खान्थे । जनावरको रगत ढुंगा, रुख, पहाडमा चढाउँथे । त्यो चलन अहिले पनि केही फेरिएको अवस्थामा छ । खतिवडाका अनुसार मानिसहरु आफ्नो भोग विलास पूरा गर्न देवीदेउताका नाममा बलि चढाउँछन् । यसो गरिरहन आवश्यक छैन ।
खतिवडा भन्छन, ‘हामी जो देवीलाई बलि दिएको भन्छौं, वास्तवमा ती देवीहरु त शाकाहारी छन् । उनीहरु विष्णुभक्त वैष्णवीहरु हुन् । देवीले कहिले पनि रगतको भोग लिन्नन् । किनभने दुर्गामाता मानिसको मात्रै होइन, समस्त जीवकै माता हुन् ।’
बलिप्रथाको विरोध हरेक वर्ष हुने गर्छ । तर बलि रोकिएको छैन । संस्कृति, परम्परा र चलनका रुपमा यो प्रथाले नेपाली समाजमा स्थान पाइरहेको छ ।
पशुबली प्रथाका एक समर्थक भन्छन्, ‘हामी जन्मनासाथ हाम्रो पुर्खाले जे सिकाए हामीले त्यही गर्यौं र त्यही परम्परा हामीले जोगाइ राख्नु आवश्यक छ ।’ त्यस्तै कतिपय व्यक्तिहरु पुर्खादेखि चलिआएको मान्यता परम्परा किन त्याग्ने ? देवीेमाताको मन्दिरमा पशुबली दिएर मनोकामना पूरा हुन्छ भने किन पछि पर्ने ?’
दसैंमा भाकल गर्नेहरु भन्छन्,‘हामीले मात्र हत्या, हिंसा तथा बलि दिने होइन् हामीलगायत अन्य जनावर सिंह बाघ, भालु, स्यालजस्ता मांसाहारी जनावरले पनि अर्को पशु मारेर खाने गर्दछन् । हामीले छाड्दैमा हिंसा रोकिने होइन । हामीले हिंसा त्याग्यौं भने के बाघले घाँस खान्छ ?’
–विश्वराम सुनुवार
dashain ma bali dharma