जिब्रोले स्वाद कसरी थाहा पाउँछ
हामीले खाएको खानेकुराको स्वाद जिब्रोले थाहा पाउँछ, त्यो सबैलाई थाहा भएकै कुरा हो । जिब्रोमा रहेका टेस्ट बडहरुको मद्दतले हाम्रो जिब्रोले कुनै पनि कुराको स्वादका बारेमा थाहा पाउँछ ।
वास्तवमा स्वाद थाहा पाउने प्रक्रिया अत्यन्तै जटिल छ । लोग्नेमान्छेको तुलनामा स्वास्नीमान्छेमा टेस्ट बडको संख्या बढी हुन्छ । तर पनि एउटा मान्छेको जिब्रो, मुखको भित्ता र फेरिक्स अर्थात् नाक र मुखको नली घाँटीसँग जोडिएको भागमा समेत गरी करिब दश हजारवटा टेस्ट बडहरु हुन्छन् । म्युकस मेम्ब्रेनको पत्रले ढाकिएका, कत्ला परेका जस्ता यी ग्रन्थीहरुलाई पेपिले भनिन्छ । प्रत्येक पेपिलेमा २ सय देखि ३ सय वटासम्म टेस्ट बडहरु हुन्छन् र प्रत्येक टेस्ट बडको जरा स्नायु फाइबरसँग जोडिएको हुन्छ ।
हामीले खाएको खानेकुराको जब टेस्ट बडका मसिना रौंहरुलाई हल्लाउँछ त्यसले टेस्ट बड जोडिएको स्नायु फाइबरमा पनि आकस्मिक प्रतिक्रिया उत्पन्न हुन्छ । स्नायु फाइबरले त्यो आकस्मिक प्रतिक्रियालाई सोझै मस्तिष्कमा र्पुयाइदिन्छ । जसले हामी स्वादको अनुभूति गर्छौं । तर स्नायु फाइबरमा त्यो आकस्मिक प्रतिक्रिया पैदा गराउनका लागि हामीले खाएको कुरा र्यालमा घुल्न सक्ने हुनैपर्छ । घुलनशिल अणुहरु स्वतन्त्र रुपले चल्ने चीजहरुको मात्र हामी स्वाद थाहा पाउँछौं । उदाहरणका लागि हामी शिशाको स्वाद नै थाहा पाउन सक्दैनौं । कुनै पनि बस्तुको अणुलाई बढी गतिशील पार्ने कुराले स्वादलाई पनि तीब्र पारिदिन्छ । जस्तो, तातोले कुनै पनि बस्तुको अणुलाई बढी गतिशील तुल्याईदिन्छ । त्यसैले हामीले चिसो कफीभन्दा तातो कफीको स्वादमा बढी तीतोपन भएको महसुस गर्छौं ।
त्यसैगरी चिसोभन्दा तातो मासु बेसी मीठो हुनुको रहस्य पनि यही हो । हाम्रो जिब्रोले मुख्य गरी तीन वा चारवटा विभिन्न स्वादहरु चाल पाउँछ । हाम्रो जिब्रोको पछिल्लो भागले तीतो, टुप्पोले गुलियो र बीचको छेउछाउको भागले नुनिलो र अमिलो स्वाद थाहा पाउँछ । हाम्रा खानेकुरा विभिन्न चीजहरु मिलेर बनेको हुन्छ । त्यसैले त्यसले मिश्रित स्वाद पैदा गर्छ । कुनै पनि कुराको स्वादले हामीलाई चिसो, तातो वा गन्धको अनुभव गराउँछ । जुन गन्धले हाम्रो सुँघ्ने क्षमतालाई उत्तेजित गर्छ र हामी त्यसको स्वादले भन्दा त्यसको गन्धले गर्दा बेसी स्वादिलो भएको अनुभव गर्छौं
Tounge