नयाँ शक्तिमा के हो समस्या ? को हो समस्या ?
निर्मल भट्टराई बडा दसैको मुखमा नयाँ शक्ति पार्टी नेपालमा अनपेक्षित घटना घट्यो । नेता मुमाराम खनालको विषयले नयाँ शक्तिको आन्तरिक राजनीति तातेको छ । संयोजक डा.बाबुराम भट्टराको आलोचना गरेर लेखिएको एउटा फेसबुक स्टाटसलाई लिएर उनलाई स्पष्टिकरण दिने मौका पनि नदिई पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सदस्य संख्याको एक तिहाई संख्याभन्दा कम सदस्यको अनौपचारिक बैठकले उनको तह घटुवा गर्ने काम किन हतारमा गर्यो भन्ने कोणबाट टिकाटिप्पणी भई रहेछ । र, हठात् किन मुमाराम स्वतन्त्र भए भन्ने टिप्पणी पनि त्यत्तिकै छ । यो विधि, पद्धति र प्रक्रियासंग गाँसिएको सवाल हो । यस्ता समस्या किन आउँछन् ? क) नेता पनि विधान र नीतिको अधिनस्थ हुने
लामो बहस पछि नयाँ शक्तिको विचारको प्रारम्भिक खाका जनसमक्ष आईसकेको छ भने पूर्ण लोकतान्त्रिक विधानको कार्यान्वयन शुरु भएको छ । विचार निर्माण गर्दा नयाँ शक्ति विगतमा अरु पार्टीहरुले गर्ने गरेको सिद्धान्तको कपी पेस्ट प्रणालीको अन्त्य गर्दै पाँच सूको मौलिक प्रस्तावना अघि सार्यो, आर्थिक पारदर्शिताको कार्यविधि बनायो, जथाभावी चन्दा नउठाउने ऐलान गर्यो,वक्ताहरुलाई विषय केन्द्रित भएर १५देखि २० मिनेटभित्र आफ्ना भनाई सक्न निर्देशन गर्यो,अरु पार्टीले अपनाउदै आएको प्रतिनिधित्वको असमावेशी सिन्डिकेट प्रणालीको विकल्पमा समावेशी प्रत्यक्ष लोकतन्त्रको प्रावधान सहितको विधान बनायो, शिक्षक, प्राध्यापक र कर्मचारीमा देखिएको अति पार्टीकरण र राजनीतिकरणको विकल्पमा सो क्षेत्रमा आफ्ना आङ्गिक संगठन नबनाउने निर्णय गर्यो, मा.वि. तहदेखि नै विद्यार्थी संगठन बनाउने र ५० बर्षसम्म विद्यार्थी राजनीति गर्ने परम्परालाई तोड्न स्नातकभन्दा तल कुनै विद्यार्थी संगठन नबनाउने तथा विद्यार्थी राजनीतिको लागि उमेर हद तोक्ने निर्णय गर्यो । यी नेपालको राजनीतिमा ऐतिहासिक निर्णय थिए । के निर्णयमात्र पर्याप्त छन् ? निर्णय त जे पनि गर्न सकिन्छ । यसको पालना र कार्यान्वयन सबभन्दा पहिले डा. भट्टराईबाट हुनुपर्छ । अरु सबैबाट हुनुपर्छ । कुनै गाउँका सबै मानिस जम्मा भएर गाउँको विचमा दूधको पोखरी बनाउने निर्णय गरे । पोखरीको खाल्डो खनिसके पछिको रातमा सबैले एक एक बाल्टी दूध सो खाल्डोमा खन्याउने सहमति भयो । विडम्वना,प्रत्येक गाउँलेले यो सोचे कि अरु सबैले दूध हालीहाल्छन् मैले किन सित्तैमा एक बाल्टी दूध खेर फाल्नु । परिणाम पानीको पोखरी बन्यो । हो, निर्णयमात्र प्रयाप्त छैनन् । निर्णय कार्यान्वयन हुन नसक्नुमा नयाँ शक्तिमा आवद्ध नेता कार्यकर्ताको पुराना राजनीतिक बानी जिम्मेवार छन् । तय गरेको नयाँ विचारले नेता कार्यकर्ताको व्यवहारलाई निर्देशित गर्नु पर्नेमा सो हुन सकेको छैन । निर्णयमा नेताहरुको स्वामित्व कायम हुन सकेको छैन एकातिर भने अर्कातिर गरिएका निर्णयको कार्यान्वयनमा जवाफदेहिता स्थापित हुन सकेको छैन । ख) नेतृत्वको संयोजन र फरक मनोविज्ञान
नयाँ शक्तिको नेतृत्व पुञ्ज विशिष्ट प्रकारको छ । नयाँ शक्तिको नेतृत्व तहमा सेवानिवृत्त उच्च पदस्थ कर्मचारीहरुको समूह छ । दुई तीन दशक देशको ऐन, नियमभित्र बसेर देशको सेवा गरेका उनीहरु नयाँ शक्तिलाई विधिविधान अनुसार चलाउनु पर्ने धारणामा अडिग देखिन्छन् । फिल्डमा परिणाम निकाल्ने त्यति धेरै समय र कौशल नभए पनि उनीहरुले पार्टीको नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन । नयाँ शक्ति निर्माणको क्रममा नेपाली कांग्रेस, एमाले लगायतबाट ठूलो संख्यामा राजनीतिज्ञहरु समावेश भएका छन् । विभिन्न राजकीय उच्च ओहदामा काम गरिसकेका उनीहरु जुनसुकै राजनीतिक जिम्मेवारी बहन गर्ने योग्यता राख्दछन् । समावेशीकरण र प्रत्यक्ष लोकतन्त्र तर्फको यात्रा सहज बनाउन उनीहरुको अनुभवले महत्वपूर्ण भूमिका खेल्नेछ । आलोचना सहन सक्ने क्षमता अत्यधिक भएका उनीहरुको नेतृत्वमा भर गर्ने ठाउँ छ । पूर्व माओवादी समूहभित्र प्रष्ट रुपमा दुई उप प्रवृत्तिहरु विद्यमान छन् । फुली दज्र्यानी चिन्ह सहित माओवादी युद्धमा कमाण्डर र कमिसारको भूमिका निभाएको एउटा सानो समुह र माओवादी शान्ति प्रक्रियामा आएपछि चुनावी प्रक्रियामा सामेल भएको ठूलो समूह । अघिल्लो समूह लडाकू छ तर निषेधकारी र एकमनावादी छ । पार्टीको निर्णयभन्दा आफनो आदेश ठूलो ठान्ने, आफ्ना आलोचकलाई देखिनसहने, उसको घेरवन्दी गर्ने , सम्पूर्ण निर्णय श्रोत साधन आफैमा केन्द्रित गर्न चाहने, आर्थिक पारदर्शी नहुने उनीहरुको पुरानो बानी हो । उनीहरुलाई आलोचना,खण्डन र बहसको माध्यमबाट नयाँ शक्तिको मूल स्पिरिटमा व्यवहारिक रुपमै अभ्यस्त गराईनु पर्छ । दोश्रो समूह त युद्धको धङ्धङी नबोकेको र जनतामा आधारित भएर काम गरिरहेको समूह हुनाले नयाँ शक्तिको मूल भावना समातेर फिल्डमा खटिरहेको छ । नयाँ शक्ति नेपाल–केन्दीय कार्यकर्ता पेजले खुल्ला गरेको अनलाइन आवेदन भरेर पार्टीमा आवद्ध भएका १६ देखि ४० वर्ष सम्मका कतै राजनीतिमा नलागेका पचास हजारको हाराहारीमा युवाहरुको समूह नयाँ शक्तिको सबभन्दा आसलाग्दो शक्ति हो । नवीन विचार , कार्य शैली, डा.भट्टराईको आर्थिक समृद्धिको भिजन मन पराएर पार्टीमा समाहित भएका ती युवाले छोटो अवधिमा पार्टीको विभिन्न तहको सफल नेतृत्व गरिसकेका छन् । उद्यमशीलता सहित स्वावलम्वी ती युवा सकारात्मक सोचका धनीमात्र होइन, नयाँ शक्तिको मूल मन्त्रको रुपमा स्थापित “राजनीति पेशा होइन, सेवा हो” नारालाई हुबहु आत्मसात गर्न सक्छन् । र,उनीहरु चाँडै नेता बन्न सक्छन् । ग) विगतका निषेघकारी चिन्तनलाई बाई बाई
नयाँ शक्तिको महायात्रा दूध पोखरी बनाउने निर्णय गरेर पानी पोखरी बनाएर टुङ्गिने यात्रा होइन । यो यात्रा प्रचण्डको पेलाईको प्रतिशोध साँध्न रचिएको प्रपञ्च पनि होईन । न ओली वा देउवाको नै । यो त राजनीतिको सकारात्मक परिवर्तनको लागि हो । त्यसकारण, सबैले नयाँ शक्तिको स्पिरिटसंग मेल नखाने आफ्ना पुराना बानी त्यागेर इमान्दार प्रयत्न गर्दामात्र यसको गन्तव्यको यात्रा सुनिस्चित हुन्छ । शिखर पुरुष हुनुको नाताले डा.भट्टराईले आफूले तय गरेका विचार र नीति कार्यान्वयन गर्न गराउन सबभन्दा बढी लोकतान्त्रिक,ईमान्दार र पारदर्शी प्रयत्न गर्नु पर्ने झन टड्कारो आवश्यकता छ । पार्टीभित्रका आफ्ना आलोचकलाई विश्वासमा नलिई कुनै पनि लोकतान्त्रिक चल्न सक्दैन । आफैं निति, विधि विधान बनाउने आफैं सबैभन्दा पहिले उलंघन गरेको भन्ने आरोपबाट डा. भट्टराई सर्वप्रथम मुक्त हुनु आवश्यक छ । अन्यथा पार्टीमा अरुलाई अनुशासनमा राख्न सकिदैन । पार्टी व्यवस्थापनमा भट्टराईले खेल्ने सन्तुलनकारी र समन्वयकारी भूमिकाले मात्र नयाँ शक्तिको भविश्य सुनिस्चित गर्न सक्छ । घ) सार्थक सम्वादको थालनी
जगजाहेर छ, समस्याको समाधान लोकतन्त्रको वास्तविक अभ्यासबाट मात्र संभव छ । लोकतन्त्रमा एकजनाको मत पनि त्यतिकै महत्वपूर्ण हुन्छ । त्यसलाई नेतृत्वले जगेर्ना गर्न सक्नु पर्दछ । पार्टी भनेकै मैं हु भन्ने दम्भ नराखी सबैलाई समेट्ने साहस बटुलेर डा. भट्टराईले सार्थक सम्वाद शुरु गर्नु पर्छ । पार्टीमा हाल देखा परेका र देखा पर्न सक्ने सबै समस्याको हल लोकतान्त्रिक तरिकाले खोज्नु पर्दछ । अलोकतान्त्रिक निषेधकारी तरिका त माओवादी पार्टीमा छोडिहालियो त । वादविवाद, प्रतिवाद र आलोचना सतहमा आउदैमा नेता आत्तिनु हुदैन । नेता समाधान हो, समस्या होइन । समाधान दिने व्यक्ति नै समस्या भयो भने त त्योभन्दा ठूलो बर्बादी अरु के हुन सक्छ र ? ( नेता, नयाँ शक्ति पार्टी, नेपाल ) naya shakti