समाज

उपराष्ट्रपति पुनद्वारा विजयादशमीको शुभकामना

उपराष्ट्रपति पुनद्वारा विजयादशमीको शुभकामना
काठमाडौं, २५ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले विजयादशमीको शुभअवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले आज दिनुभएको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देशलाई प्रकृतिको सुन्दरतासँगै हाम्रा मौलिक संस्कार, संस्कृति तथा चाडबाडले झनै सुन्दर बनाइरहेको उल्लेख गर्नु भएको छ । सन्देशमा उहाँले धर्मनिरपेक्ष हाम्रो मुलुकमा सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको र असत्यमाथि सत्यको विजयको रुपमा मनाइने विजयादशमीसहित सबैखाले चाडपर्व नेपालीका साझा सम्पत्ति हुन् भन्नुभएको छ । उपराष्ट्रपतिले भन्नुभएको छ– “हामीले अघिल्लो वर्षको दसैँ संविधान जारी गरेर मनाएका थियौँ । संविधान जारी पछिको दोस्रो दसैँ मनाउँदै गर्दा संविधान कार्यान्वयन प्रक्रियाले अपेक्षाकृत गति लिन सकेको छैन ।” उहाँले विजयादशमीको यो पावन अवसरले संविधान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टिलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट सम्बोधन गर्दै विभिन्न तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई तीव्रता दिन सबैलाई प्रेरित गरोस् भनी कामनासमेत गर्नुभएको छ । रासस

nanda bahadur pun dashain wish

विशेष