सभापति देउवाद्वारा विजया दशमीको शुभकामना
काठमाडौं, २५ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन दिनमा सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज दिनुभएको शुभकामना सन्देशमा विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको र अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताउनुभएको छ ।
“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक वेशभूषासहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्वभावले विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले पनि हामीबीचको एकतालाई अझ मजबुत बनाएको छ,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलनमार्फत प्राप्त उपलब्धिलाई कार्यान्वयन र संस्थागत गर्नेक्रममा हामी सबै प्रयत्नरत छौँ, उहाँले भन्नुभएको छ ।
सन्देशमा उहाँले मुलुकका सामु विद्यमान समस्याको शान्तिपूर्ण ढङ्गबाट आपसी सद्भाव र एकताका आधारमा हामी सबै एकजुट भई समाधान गर्न आआफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अग्रसर हुन सबैलाई आग्रह पनि गर्नुभएको छ । रासस
sher bahadur dewa dashain wish