देश

म्याग्दीका ९३ प्रतिशत घरधुरीमा खानेपानी सुविधा

म्याग्दीका ९३ प्रतिशत घरधुरीमा खानेपानी सुविधा
असोज - ३० । म्याग्दीमा ९३ प्रतिशतभन्दा बढी घरधुरीमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेको छ । आधारभूत खानेपानी र सरसफाइमा पहुँच बढेसँगै दूषित पानी र फोहोरका कारण लाग्ने स्वास्थ्य समस्या कम भएको छ । [caption id="attachment_32627" align="alignleft" width="300"]drinking_watar फाइल तस्बिर[/caption] चौबिस हजार पाँच सय ९९ घरधुरीको बसोवास रहेको म्याग्दीका २२ हजार ९३५ घरधुरीमा खानेपानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको हाे । आव २०७१/७२ सम्म ९१.४४ प्रतिशत घरधुरीमा व्यवस्थित खानेपानी सुविधा रहेकामा २०७२/७३ मा निर्माण भएका आयोजनाबाट करिब तीन प्रतिशत विस्तार भएको सबडिभिजन प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए । मुहान सफा र व्यवस्थित भएको र मुहानबाट प्रशोधन गरी धाराबाट वितरण गरिने खानेपानीमा सर्वसाधारणको सहज पहुँच भएको अवस्थालाई आधारभूत खानेपानी सुविधा भएको मानिन्छ । जिल्लामा हालसम्म ५७० वटा खानेपानी योजना निर्माण भएका छन् । बेनी, गलेश्वर, बाबियाचौर र राम्चेका २ हजार ४ सय ९० घरधुरीमा निजी धारा जडान भएको छ । आगामी ५ वर्षसम्म शतप्रतिशत घरधुरीमा खानेपानीको धारा जडान गर्ने लक्ष्य राखिएको इन्जिनियर केसीकाे भनाइ छ । उपभोक्ताको सुविधा र दिगो व्यवस्थापनका लागि एक घर एक धाराको अवधारणा अघि सारिएको हो । मुहानको संरक्षण तथा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरी प्रशोधन गरेपछि सार्वजनिक अथवा व्यक्तिगत धाराको खानेपानी उपभोग गर्नेलाई सुरक्षित मानिन्छ । खुला मुहान, कुवा, खोल्साको पानीलाई प्रशोधन नगरी सिधै उपयोग गर्नुलाई असुरक्षित मानिन्छ । असुरक्षित पानीको उपभोग गर्ने घर सङ्ख्या जिल्लामा दुई हजारको हाराहारीमा छ । खानेपानी र सरसफाइमा पहुँच वृद्धि गरी दूषित पानी तथा फोहोरजन्य रोग न्यूनीकरण गर्न जोड दिइएको इन्जिनियर पौडेलले बताए ।

Drinking water Myagdi

विशेष