सफलताको कथा

भारत नछाड्ने एक अंग्रेजः जसको कर्मथलो बन्यो नेपाल

भारत नछाड्ने एक अंग्रेजः जसको कर्मथलो बन्यो नेपाल

ठ्याक्कै बेलायती । ठ्याक्कै के भनौं बेलायती नै । नीला आँखा, खैरो कपाल, सेता रङ । यस्ता रुपका मान्छे बेलायत, अमेरिका तिरै हुन्छन् । तर रिना रोड्रिगेजको सन्दर्भ निकाल्ने हो भने विषय फरक हुन्छ । उनको शरिरमा रगत त बेलायती नै बगेको छ तर सम्बन्ध भने बेलायतसँग छैन । रिना रोड्रिगेज को हुन ? बेलायत सरकारले चिन्दैन । सम्भवतः भारतमा अंग्रेजको शासन हुँदा उनका पूर्खा भारत आए । अंग्रेजले भारत छाड्दा रिनाका पूर्खा फर्केनन् । रिनाको जन्म भारतमै भयो । विवाह उतै भयो । जीवनले समान्य–असामान्य मोड लिँदै जाँदा रिनाको कर्मथलो नेपाल बन्यो ।

बत्तीस वर्ष अगाडि नेपाल आउँदा रीनाको उमेर १८ वर्षको थियो । युवा उमेरमै भारत छाडेकी एक युवती अहिले पचास वर्ष पार गरिसकेकी छन् । उनको जीवनका ३२ वर्ष नेपालको शिक्षा क्षेत्रमा खर्च भयो ।

जेभिएर इन्टरनेसनलकी प्रिन्सिपलका रुपमा रिनाको परिचय गराइयो भने चिन्न अझै सरल हुन्छ । समयमै नेपाल आएर शिक्षिका बनेकोमा रिनालाई गर्व महशुस हुन्छ । आफ्ना विद्यार्थी विभिन्न क्षेत्रमा सफल भएको देख्दा जीवनमा राम्रै काम गरिएछ भन्ने लाग्छ । हवाई जहाज चढ्न जाँदा आफ्नै विद्यार्थी पाइलट, बिरामी हुँदा जाँच्ने आफ्नै विद्यार्थी डाक्टर, बैंकमा आफ्नै विद्यार्थी मेनेजरका रुपमा काम गरिरहेको भेटिन्छन् । त्यति मात्रै होइन उनका केही विद्यार्थी त सिनेमाका हिरो –हिरोइन पनि भएका छन् ।

कुनै समय कक्षामा राम्ररी नपढेर अफिस कोठामा बोलाएर सजाय दिनुपरेका विद्यार्थीहरुले अहिले यसरी प्रगति गरेको देख्दा उनी चकित हुने गर्छिन् । चलचित्र ‘ड्रिम्स’ मार्फत नेपाली फिल्ममा डेब्यू गरेकी अभिनेत्री साम्राज्ञी शाहदेखि हालै रिलिज भएको फिल्म ‘सफर’का नायक सञ्जय गुप्ता समेत कुनैबेला उनका विद्यार्थी थिए । सञ्जय गुप्ता सञ्चारकर्मी पनि हुन् ।

रिनाको स्मरणमा साम्राज्ञी र सञ्जय पढाईमा धेरै ध्यान दिँदैन थिए । उनीहरुलाई पटक पटक अफिसमै बोलाएर सम्झाएको उनले सुनाइन् । विभिन्न पेशामा रमाइरहेका सफलतम् विद्यार्थीहरुसँग भेट्दा ती विद्यार्थीहरुले अक्सर भन्ने गर्छन्, ‘म्याम्, इट्स अल विकज अफ यू ।’ यस्ता शब्दले उनको मन प्रफुल्लित हुन्छ ।

रिनाको खास नाम ज्यानेट एन्जिला रोर्डरिग्ज हो । हनिमुन मनाउन पहिलो पटक भारतबाट नेपाल आएकी थिइन् रिना । त्यसअघि नेपालबारे कुनै चासो थिएन उनलाई । क्योथोलिक परिवारकी रिनाको विवाह आफ्नै समुदायको युवकसँग होस् भन्ने चाहना उनका अभिभावकको थियो । प्रेम अन्धो हुन्छ भन्ने गरिन्छ । रिनाको प्रेमले पनि उनका बुबाआमाको चाहना देखेन । १४ वर्ष बढी उमेरका एक भारतीयसँग उनको प्रेम बस्यो । प्रेम विवाहमा परिणत भयो ।

तर कडा मिजासका बुबाले रिनाको निर्णय मन पराएनन् । रिनाको शब्दमा त उनका बुवा ‘हिटलर’ नै थिए । नेपाल आएका उनीहरुको हनिमुन लम्बियो । नेपालमै बसोबास गर्न थाले । तीन छोरा र एक छोरीको जन्म नेपालमै भयो ।

बुवालाई मन नपर्ने निर्णय लिएपछि फेरि भारत फर्कन उनलाई मन लागेन । भाग्यको एक खेल पनि थियो त्यो । किनभने मान्छेको भाग्यमा जे लेखिएको हुन्छ, त्यही हुन्छ । नेपाल बस्ने निर्णय त उनले गरिन् । तर उनले न नेपाल बुझेकी थिइन् न नेपाली । धेरै नेपालीहरुले त उनको नाम नै शुद्ध उच्चारण गर्न जान्दैन थिए । त्यसकारण पनि ज्यानेट एन्जिलाबाट बनिन् रिना ।

घुमफिरबाहेक रिनाको अर्को उद्देश्य थिएन नेपालमा । यतै बस्न भएपछि विद्यालय पढाउन शुरु गरिन् । नेपालमा शिक्षकहरुको तलब त्यति राम्रो हुँदैन । तर रिनाको पहिलो तलब १ हजार २ सय रुपैयाँ थियो । त्यो रकम, त्यो बेलाका लागि ठूलो थियो । १ हजार २ सयले काठमाडौंमा आरामको जीवन जिउन पुग्थ्यो ।

काठमाडौंमा पढाउन थालेपछि नाम चलेका विद्यालयहरुबाट पनि अफर आउन थाल्यो । रोर्डरिग्ज कडा स्वभावकी थिइन् । बालबालिकालाई कुटपिट कहिल्यै गरिनन् । तर उनका अगाडि विद्यार्थीले अनुशासन उल्लंघन गर्ने आँट हम्मेसी गरेनन् । बालबालिकालाई नैतिक बन्धनमा राख्न सक्ने रिनाको क्षमता थियो ।

आफ्नो कार्यकालमा धेरै विद्यार्थी तह लगाउन सकेको उनको भनाइ छ । कतिपय स्कुलहरुमा चुरोट र ड्रग्स सेवन गर्ने विद्यार्थीलाई समेत बोलाएर राम्रो ज्ञान दिन सकेको उनले बताइन् । विद्यार्थीहरुको झगडा पर्दा पनि कति शिक्षकहरु अगाडि जान डराएको र आफू गएर सबै कुरा साम्य पार्न सकेको उनी बताउँछिन् । उनको यस्तो कार्यले धेरै विद्यालयले विद्यार्थीलाई लाइनमा ल्याउनुपर्यो भनेर उनलाई बोलाउने गरेको उनी बताउँछिन् ।

उनका अघि जो विद्यार्थीे पनि डराउँछन् । उनले पिटेर कहिल्यै विद्यार्थीलाई तह लगाइनन् । दुबै पक्षको कुरा राम्ररी सुनेर सम्झाई बुझाई गर्ने उनको बानी छ । त्यही भएर उनी विद्यार्थीसामु सबैको प्यारी बनेकी छिन् । उनको अघि कसैले पनि नराम्रो काम गर्न हतपत हिम्मत गर्दैनन् ।

३२ वर्षअघिको नेपाल सम्झिँदा उनी निराश देखिइन् । आफू भर्खर आउँदाको काठमाडौँ सम्झदैँ उनले भनिन्, ‘काठमाडौँ अहिले धेरै पविर्तन भएको छ । यहाँको हावापानीमा धेरै परिवर्तन आएको छ । ’ धेरै वर्ष नेपालमा बिताए पनि उनी प्रष्टसँग नेपाली बोल्न सक्दिनन् तर नेपाली पढ्न र बुझ्न भने सक्छिन् ।

मिलनसार स्वभावकी रीना बच्चाहरुसँग समय बिताउन रमाउँछिन् । हाल उनी टुसालस्थित जेभियर इन्टरनेसनल स्कुलकी प्रधानाध्यापक हुन् । विहानको ४ बजेबाट उनको दैनिकी शुरु हुन्छ । विहान ४ बजे नै उठेर आफ्नो नित्यकर्म सक्छिन् । टंगालमा बस्दै आएकी उनी ६ बजे स्कुल आईपुग्छिन् । विद्यालय आएपछि नै उनको काम शुरु हुन थाल्छ । छोराछोरी विभिन्न मुलुक पुगेका छन् । घरमा उनी एक्लो छिन् ।

एक छोरा अष्ट्रेलिया, एक दुवई र एक भारतमा छन् । छोरी पनि दुवईमै छिन् । मुम्बाइमा उनको माइती परिवार अहिले पनि छ । बारम्बार उनलाई बोलाइरहन्छन् तर उनलाई जान खासै इच्छा लाग्दैन । विद्यार्थीहरुसँगै समय बिताउनमा उनी रमाइलो मान्छिन् । उनको खासै फुर्सद त हुँदैन तर फुर्सदको समय ध्यान गरेर बिताउने उनको बानी छ । बच्चाहरुको साथमा हुँदा स्वर्गीय आनन्द पाउने उनले बताइन् ।

नेपालको शिक्षा क्षेत्रमा उनले ठूलै योगदान गरेकी छिन् । ३४ वर्षसम्म इमान्दारीसाथ काम गर्ने शिक्षक बिरलै भेटिन्छन् । आफ्नो कार्यकालमा उनी कहिल्यै टाइम पासका लागि विद्यालय गइनन् । आजकाल यस्ता धेरै शिक्षक भेटिन्छन् जो आफ्नो समय व्यतित गर्नका लागिमात्र पढाउने काममा लाग्छन् । यस्तो पाराले शैक्षिक क्षेत्रमा सुधार नआउने उनको बुझाइ छ । त्यसकारण उनी नेपालको बर्दिया, चितवनजस्ता ठाउँमा गएर कसरी पढाउने, विद्यार्थीलाई कसरी सम्झाउने, भन्नेबारे तालिम दिन पुगेकी छिन् ।

नेपालको दुर्गम क्षेत्रको शिक्षालाई लिएर रीना निकै दुखी छिन् । यदि कसैले उनलाई त्यस्ता जिल्ला जिल्लामा लगेर तालिम दिन मद्दत गरेमा आफू नेपालका हर दुर्गम क्षेत्रमा पुग्न चाहेको बताइन् ।

उमेरले उनी ५० काटिसकिन् । तर पनि हट्टाकट्टा नै छिन् । आफ्नो काममा हर तरहले लागिरेहकी छिन् । काठमाडौँका धेरैजसो नामी विद्यालयले उनलाई आउन आग्रह गरिरहन्छन् । तर, उनी पैसाको लागि भनेर एकै पटक धेरै विद्यालयमा काम गर्न चाहन्नन् । धेरे विद्यालयबाट कामको अवसर आइरहे पनि उनी जता कामगरे पनि एकै ठाउँमा काम गर्छिन् । उनी भन्छिन्, ‘एकै पटक दुईवटा डुङ्गामा खुट्टा हाल्नु हुँदैन ।’ जहाँ काम गरे पनि एक ठाउँमा गर्ने र त्यसमा मन, वचन र कर्मले लाग्नु नै उनको सिद्धान्त हो ।

प्रस्तुति : कञ्चन न्यौपाने

विशेष