सफलताको कथा

दुबई छोडेर मटन र भुटन व्यापार, दैनिक हजारौँको कमाइ

दुबई छोडेर मटन र भुटन व्यापार, दैनिक हजारौँको कमाइ

चितवन : विदेशमा छ वर्षको बसाइँपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम गर्‍यो भने स्वदेशमै त्यहाँभन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गरे । दुबईमा मासिक ३० हजार हाराहारी कमाइ गर्ने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्छन् ।

भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट छ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किए । चोक बजारमै काकाले शुरुआत गरेको होटल उनले सम्हाले । होटलको नाम थियो अधिकारी रेष्टुराँ । खाजा पाक्थ्यो भुटन र मटन ।

उत्साहित हुँदै अधिकारीले भने, “पहिलो दिनमा मैले रु छ हजारको व्यापार गरेँ, निकै खुशी लाग्यो ।” उनको होटलमा दैनिक स्थानीय जातको खसी काटेर भुटनका परिकार बनाइन्छन् ।

व्यापार बढ्दै गएपछि उनी उत्साहित हुँदै गए । बजार नजिकै एक कट्ठा जग्गा किनेर घर र रेष्टुराँसँगै बनाए । अधिकारीले अहिले दैनिक रु १५ हजारको हाराहारीमा व्यापार गर्छन् । श्रीमती अम्बिका र एकजना कामदारले उनलाई सघाउँदै आएका छन् ।

उनले भने, 'विदेशको कमाइभन्दा यहाँ धेरै राम्रो छ, म सन्तुष्ट छु ।' दुई सन्तान छन् अधिकारीका । छोरीले निजी विद्यालयबाट एसइई दिएकी छिन् भने छोरा निजी विद्यालयमा पढ्दै छन् । दुई सन्तान पढाउनेदेखि घरखर्च टार्दै बचत पनि गर्न सकेको अधिकारी बताउँछन् ।

एकै प्रकारको खाजा खुवाउने हुँदा जिल्लाका विभिन्न ठाउँबाट ग्राहक आउने गरेको उनको भनाइ छ । बैंकका कर्मचारी, शिक्षक, घर जग्गा व्यवसायी, सरकारी कर्मचारी उनका नियमित ग्राहकजस्तै छन् ।

आफ्नै घर भएकाले भाडा तिर्न नपर्ने र कर्मचारी एकजना मात्रै भएकाले बचत राम्रो हुने गरेको छ । अधिकारीले भने, “लगन लगाएर काम गर्‍यो भने नेपालमै केही गर्न सकिन्छ ।” नियमित खट्दा उपलब्धि हुन्छ भन्ने अनुभव उनले गरेका छन् ।

मटन-भुटन व्यापार

विशेष