नयाँ काम थाल्नुपूर्व के गर्नुपर्छ ? यस्ताे भन्छ चाणक्य नीति
काठमाडौँ । आज साउन १ । नेपालको आर्थिक प्रणालीमा आजदेखि नयाँ वर्ष सुरु । नयाँ आर्थिक वर्षदेखि नयाँ कार्य सुरु गर्ने सोचमा हुनुहुन्छ भने चाणक्य नीतिका यी विषय अनुसरण गर्नु उपर्युक्त हुन्छ किनभने कुनै पनि नयाँ काम सुरुवात् गर्नुअघि मानिसहरु पटक पटक गरौँ कि नगरौँ कि ? भन्ने दोधारमा पुग्छन् । तर चाणक्यका यी नीति अनुसरण गर्दा भने सहज हुने शास्त्रीय मान्यता छ ।
१) नयाँ काम गर्नुपूर्व तीन सोच राख्नुहोस् : कुनै पनि नयाँ काम शुरु गर्नुअघि मनमा यी कुरा मनन गर्नुहोस् । काम शुरु गर्ने समय र स्थान, उपलब्ध सम्पत्ति र समर्थन गर्ने मानिसहरू ।
२) क्षमताको आँकलन– काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुपर्छ । अन्यथा खतरामा पर्न सकिन्छ ।
३ ) बोलीमा नियन्त्रण – भनिन्छ जिब्रोको गरिमा मीठो बोलीमा । व्यक्तिको सफलता र असफलतामा बोलीको पनि महत्वपूर्ण स्थान रहन्छ । मीठो, मधुर बोली नै हरेकको पहिचान हो । रुखो बोल्नेसँग कोही पनि निकट हुन्नन् ।
४ ) शरीरको हेरविचार– शरीर भगवानको सबैभन्दा ठूलो उपहार हो । धनसम्पत्ति नाश भए फेरि आउँछ तर शरीर नै नभए केही रहन्न । त्यसैले कुनै नयाँ काम शुरु गर्नुअघि आफ्नो शरीरको अवस्था, स्वास्थ्य सबै विचार गर्नुपर्छ ।
५ ) ज्योतिषीसँग परामर्श– कुनै नयाँ काम शुरु गर्नुअघि विज्ञ ज्योतिषीसँग सल्लाह लिनाले ग्रहदशाको अवस्था र आउने बाधाबारे पनि जानकारी मिल्छ ।
६) घरपरिवारसँग सल्लाह– विवाहअघि आफ्ना घरपरिवारसँग र विवाहपछि पत्नीसँग सल्लाह गरी काम गरेमा भैपरी आउने समस्या समाधानमा सहज हुन्छ ।
७) अशिष्ट पनि बन्नुपर्छ– सफल हुनका लागि कहिलेकाँही कडा निर्णय पनि लिनुपर्ने हुन्छ । निर्णय लिनका लागि कसैप्रति अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि पर्नुहुन्न ।
८) रहस्य लुकाउनुस्– काम शुरु गर्नुअघि आफ्ना गोप्य योजनाहरु अरुलाई नभनेकै राम्रो मानिन्छ ।