ताजा खबर समाज

७८ वर्षीय पिताको बिडम्बना, छोरालाई साङ्लोमा बाँधेर स्याहार्दै

७८ वर्षीय पिताको बिडम्बना, छोरालाई साङ्लोमा बाँधेर स्याहार्दै

sanglo

कात्तिक ४ । मानसिक सन्तुलन गुमाएका मोरङ मधुमल्ला—१ का ४८ वर्षीय तिलकबहादुर कार्कीलाई विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएको छ । उनका ७८ वर्षीय बाबु दलबहादुर कार्कीका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले साङ्लोमा बाँधेर राखिएको हो ।

दलबहादुरले भने, ‘हराउने डरले साङ्लोमा बाँधेर राखेका हौं ।’दलबहादुरलाई बूढेसकालमा छोरो साहारा बन्ला भन्ने आशा थियो । तर छोरोलाई नै साङ्लोमा बाँधेर हेरचाह गर्नुपर्ने भएको दुखेसो उनी सुनाउँछन् । उनका अनुसार आर्थिक अवस्थाले भ्याएसम्म उपचार गरेको तर आर्थिक अभावले उपचारका लागि ठूलो अस्पताल नलगिएको हो ।

उनीहरुको सम्पत्तिको नाममा एउटा पुरानो घर र एक धुर जग्गा छ । दलबहादुर भन्छन्, ‘बेचौँ भने कहाँ बस्ने ?’ छोराको उपचारमा ठूला अस्पतालले सहयोग गरिदिने हो भने छोराको होस फर्किने आशा उनमा जीवितै छ । तर ७८ वर्षे यी बाबुलाई हस्पिटलसम्म लाने र कहाँ कसरी बोल्ने हेक्का छैन । त्यसैले, उनी छोरो रोइकराइ गरेर पागलपनमा चिच्याएको, कराएको, हाँसेको पुर्पुरोमा हात राखेर हेर्न बाध्य छन् ।

उनी भन्छन्, ‘मेरी श्रीमती पनि हालसालै खसिन्, काजकिरिया केही दिनअघि मात्र सकिएको हो ।’ श्रीमती हुँदा केही सजिलो थियो अहिले धेरै समस्या भयो । के गर्ने, कसो गर्ने ? आफ्नो देहान्त भैहाले छोरोलाई कस्ले हेर्ने ? दलबहादुरलाई निक्कै पीर छ ।

दलबहादुर कार्की स्वयम् बिरामी छन् । उनका शरीरमा बुढ्यौलीले छोप्दै जाँदा पहिलेजस्तो बल छैन । आफैँ अरूको सहारामा रुमलिने अवस्थामा छन् । तर उनी भन्छन्, ‘सकी नसकी छोराको स्याहार गर्दैछु ।’आफ्नो छोरोको उपचार भए छोरोले आफैँ गरिखाने आशाको त्यान्द्रो बाबुले मनमा सँगालेका छन्

Sanglo

विशेष