जापानमा मृत्यु भएका एक नेपालीको शव परिवारले नेपाल लैजान असहयोग गरेपछि अस्पतालमै अलपत्र
कात्तिक ४ । जापानमा मृत्यु भएका एक नेपालीको शव परिवारले नेपाल लैजान असहयोग गरेपछि अस्पतालमै अलपत्र परेको छ । तीन दिनअघि टोकियोमा मृत्यु भएका रोल्पा मिरुल ३ का शिवराज रोकामगरको शव अलपत्र परेको हो ।
शव नेपाल पठाउन जापानस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले बताए । ’हामीले यताबाट पत्राचार गरिसकेका छौं । उता (परराष्ट्र मन्त्रालय) बाट आधिकारिक जानकारी पर्खिरहेका छौं ।’
मृतक शिवराजको शव अस्पतालमा अलपत्र पर्याे भन्ने सुनेपछि हामीले सहयोग गर्ने मनसायले पहल थालेका थियौं तर परिवारले अहिलेसम्म स्वीकृति दिएको छैन’, एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नागरिकन्यूजसँग भने, 'पटक पटक उहाँहरुसँग कुराकानी गरिसक्यौं तर नियत के हो बुझ्न सकिएन ।'
’एकातर्फ उहाँहरु शव पठाउन सरकार र नेपाली समुदायले सहयोग गरेन भन्नुहुन्छ । अर्कोतर्फ उहाँहरु शव होइन पहिला पैसा पठाउ भन्नुहुन्छ । उहाँहरुको नियत सही देखिएन ।’
अनुमति नदिने नियतका पछाडि शव अलपत्र परेको खबर फैलाएर परिवार सदस्य जापान आउन चाहेको सहयोग संकलन गर्न खटेका अगुवाहरुको बुझाइ छ । ’शव देखाएर परिवारका तीन जना जापान आउने तयारीमा हुनुहुन्छ भन्ने सुन्यौं । त्यसैले उहाँहरु अहिले शव होइन पैसा पठाउन भनिरहनु भएको छ । यो दुःखद कुरा हो’, पैसा संकलन गर्ने कार्यमा खटेका एक अगुवाले सुनाए ।
यसअघि मृतक शिवराजकी पत्नी प्रेमकुमारीले पैसा अभावमा श्रीमान्को शव नेपाल ल्याउन सकस भएको बताएकी थिइन्। नेपाल सरकार र जापानको नेपाली समुदायले असहयोगका कारण शव अलपत्र परेको उल्लेख गरेकी थिइन् ।
जापानमै दाहसंस्कार गर्न वा शव नेपाल पठाउन परिवारको स्वीकृति अनिवार्य हुन्छ। परिवार सदस्यले दुवै कुरामा स्वीकृति जनाएको छैन ।
Death
Japan
Shibaraj Rokamagar