राजाको शोकले थाइल्याण्डमा हुटिङमै लाग्यो रोक
कात्तिक–६ । आउँदो महिना हुने विश्व कप फुटबल २०१८ को छनौट अन्तर्गत थाइल्याण्ड र अस्ट्रेलिया बीचको खेलमा समर्थकहरुले हुटिङ गर्न नपाउने भएका छन् । दुई देशका फुटबल एसोसिएसनले स्वर्गीय थाइ राजा भूमिबोलको सम्मानमा हुटिङमा प्रतिबन्ध लगाएका हुन् । ७० वर्षसम्म शासनमा रहेका राजा भूमिबोलको अक्टोबर १३ मा निधन भएको थियो । उनको निधनपछि थाइल्याण्डमा एक वर्षका लागि राष्ट्रिय शोकको घोष्णा गरिएको छ । खेल हेर्न जाने दर्शकले काला वा सेतो रंगको लुगा मात्रै लगाउन पाउने छन् । आउँदो नोभेम्बर १५ मा हुने खेल पछि सार्न फुटबल एसोसिएसन अफ थाइल्याण्डले आग्रह गरे पनि अस्ट्रेलियाले निर्धारित समयमै खेल खेल्ने भनेपछि हुटिङमा प्रतिबन्ध लगाइएको हो । फुटबल फेडेरेसन अस्ट्रेलियाका अनुसार रंगशालामा ब्यानर, झण्डा तथा ठूलो आकारको फोन लैजान पाइन्न ।