नेपालमा भारतीय पर्यटकले तापक्रममा पनि छुट पाउँछन्
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका दिन अचेल बोर्डले तयार पारेको योजनाको प्रभावकारी कार्यान्वयनमा बित्ने गर्छ । विगतमा के के कमजोरी भए भन्ने कुराको उनलाई राम्रो हेक्का छ । विषयलाई सरलतापूर्वक बुझ्न र बुझाउन सक्ने जोशीको आफ्नै विशेषता सरलता पनि हो । पर्यटन विकासका ठूला हावादारी गफ उनी गर्दैनन् । उनका योजना सुन्दा सामान्य लाग्न सक्छ । तर उनी ती योजनाबाट नेपालको पर्यटन प्रवद्र्धन हुने कुरामा दृढ छन् । प्रस्तुत छ, नेपालआजले जोशीसँग गरेको कुराकानीको सम्पादीत अंशः
पर्यटन विकासका धेरै कुरा भए, काम हुन सकेनन् । हामी आखिर कहाँ चुक्यौं ?
–वास्तवमा तपाईले एकदमै सही कुरा गर्नुभयो । पर्यटनमा हामी सिनियर नै हो । खासगरी दक्षिण एसियामा हेर्दा पर्यटनको हब नै हो नेपाल । नेपालमा विभिन्न होटल, संस्थाले स्वर्ण जयन्ती नै मनाउन थालेका छन् । हाम्रो यात्रा शुरु भएको धेरै भइसक्यो । हाम्रो नेपालमा उत्कृष्ट पर्यटक होटल खोलेको नै ६७ वर्ष भन्दा माथि भई सकेको छ । विश्वको पर्यटन इतिहास ५० वर्ष माथिको हो त्यसैले हामी पनि त्यसै समय देखिका हौं । पछिल्लो समय हाम्रो पर्यटन खस्कियो । यसमा विभिन्न कारणहरु रहेका छन् । पहिलो हामीले पर्यटनलाई व्याख्या तथा विश्लेषण नै गर्न सकेनौँ । पहिले जस्तो पर्यटनको सीमित क्षेत्र रहेको थियो अहिले पनि त्यस्तै रहेको छ । हाम्रो नेपालको पहिलेको सेवा जुन थियो अहिले त्यो घटेको छ । त्यस्तै हामीेले राम्रो तरिकाले प्रचार तथा प्रसार पनि गर्न सकेनौँ । नेपालमा सरकारको पर्यटन मन्त्रालय आउनु भन्दा अगाडि हाम्रो पर्यटन क्षेत्र निजी क्षेत्रले अगाडि बढाएकोले यसको योगदान धेरै रहेको छ तर यति हुँदाहुँदै पनि निजी क्षेत्र पनि बलियो छैन । गुणस्तर खस्केको छ ।
पर्यटन प्रबर्द्धनको जिम्मेवारी लिएको पर्यटन बोर्ड आफै विवादमा पर्ने गर्छ, यसले पनि पर्यटन विकासमा नकारात्मक प्रभाव पर्छ होइन ?
–हो । वास्तवमा विगत चार वर्षदेखि बोर्डमा सिइओ नियुक्त हुन नसक्नुलाई कमजोरी कै रुपमा लिनु पर्छ । त्यही बीचमा पर्यटनको हिसाबले नकारात्मक ठूलाठूला घटनाहरु पनि भए । एभरेस्टको काण्ड तथा अन्नपूर्ण क्षेत्रमा हुदहुददेखि काठमाडौंमा क्यासिनो बन्द हुन, भूकम्प लगायत घटनाले नकारात्मक सन्देश फैल्यायो । नेपालको आकाश कालो सूचिमा पनि पर्यो । यस्तो अन्यौल चिर्न हामी सशक्त हुनु पथ्र्यो । त्यसो हुन सकेन । यसकारण पर्यटन सुस्ताएको हो ।
तपाई प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त हुनु भएको छ, तपाईको कार्यकालमा केही रचनात्मक कामको आशा गर्न सकिन्छ ?
हामी दुई तीन ओटा हिसाबले अगाडि बढ्न खोज्दै छौँ । पहिला पहिला परम्परागत मार्केटिङ थियौँ अब हामी डिजिटल मार्केटिङको हिसाबले अगाडि बढ्ने प्रयासमा रहेका छौँ । यो वर्षको बजेटलाई हेर्दा पनि डिजिटल मार्केटिङलाई फोकस गरेका छौँ । अस्ति भर्खर भारतमा हामीले फेसबुक आर्ट क्याम्पियन गर्याै । पर्यटन र व्यवसायलाई व्यवसायीकरण गर्न काठमाडौंदेखि पूर्व–पश्चिम पर्यटक पठाउन एमदमै गाह्रो हुन्छ । त्यसैले पूर्वी नेपालबाटै भारतका पर्यटक जोड्ने, पश्चिमका पर्यटकलाई पश्चिमबाटै जोड्ने योजना छ । अर्काे नयाँ काम भनेको एनआरएनसँग सहकार्य गरेर नेपालको पर्यटनलाई विकास गर्न सकिन्छ भनेर हामीले हस्ताक्षर पनि गरेका छौँ र त्यो अनुसार काम पनि गरेका छौँ । त्यसरी नै तीन चार ओटा काम गरेर अगाडि बढ्ने योजना रहेको छ । पर्यटन भनेको खोज अन्वेषण चाहिने क्षेत्र भएकाले त्यतातिर पनि जान खोज्दै छौ ।
अरु क्षेत्र नराम्रो हुँदा पर्यटन पनि राम्रो हुँदैन । मुलुकका अरु क्षेत्र पनि राम्रो हुनु पर्छ । पर्यटन क्षेत्र पनि राम्रो हुन्छ । पर्यटनको विकासमा पूर्वाधारहरुको विशेष भूमिका हुने गर्दछ । हामीले नेपालको प्राकृतिक सुन्दरतालाई उपयुक्त तरिकाले प्रचार प्रसार गर्न सकेका छैनौं । जस्तो उदाहरणको रुपमा हेर्दा हामीले अस्ति मात्र भारतमा एउटा कार्यक्रमको आयोजना गरेका थियौँ । ‘गर्मी से बेहाल चलो नेपाल’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा हामीले अरु देशले विभिन्न सेवामा छुट देला तर हामी तापक्रममा भारी छुट दिन्छौ भनेर प्रचार गर्यौं । खासमा विदेशमा नेपालबारे प्रचार नै कम भएको छ ।
हाम्रो देश नेपाललाई भूकम्पले तहसनहस बनायो तर भूकम्पले भत्काएका संरचना हेर्नका लागि भएपनि पर्यटकहरु त आउँछन् हैन ?
–अहिले विभिन्न देशका मानिसहरुलाई चाहीँ के लागेको छ भने नेपाल खतरायुक्त देश हो । यहाँ घुम्न गाह्रो छ । यो सन्देश बाहिर गएको छ । अहिले जति पनि सम्पदा बन्द भएका छन् यो त एक किसिमको प्रत्यक्ष सङ्ग्राहलय हो । कला सम्पदा कसरी बन्छन भन्ने कुरालाई हेर्नु राम्रो अवसर हो भन्ने हिसाबले हामीले प्रचारप्रसार गरेका छौँ त्यही हिसाबले पर्यटकहरुको रुचि पनि बढेको छ ।
भूकम्पले क्षति पुर्याएको विभिन्न सम्पदाको पुननिर्माणको काम भइरहेको छ । विश्व सम्पदा सूचीमा परेका यस्ता सम्पदाको मौलिकता नष्ट नहुने गरी पुननिर्माण हुनु पर्नेमा तपाईहरुको जोड कस्तो छ ?
– विश्व सम्पदा सूचीमा रहेका सम्पदाको मौलिकता नष्ट नहुने गरी नै पुनर्निर्माण हुनु पर्छ । पुरानै स्वरुपमा हुनुपर्छ । पहिलेको भन्दा बलियो संरचना तयार हुन्छ । यो विश्व सम्दाको मापदण्डअनुसार नै बन्छन् । र विश्व सम्पदा सूचिमा नै रहन्छ ।
पर्यटनसम्बद्ध संस्थाहरुमा सेवा सुविधा तथा आफनो फाइदाका लागि दौडधूप गर्ने तर मूल रुपमा पर्यटक आकर्षण गर्ने सवालमा चाहीँ सबैमा मौनता छाएको देखियो । पर्यटकलाई फाइदा लिने कुरामा बढी र आकर्षण गर्ने कुरामा ध्यान कम भयो यसले गर्दा सम्भावना धेरै हुँदाहुँदै पनि पर्यटन आउदैनन् भन्ने गरिन्छ । के यो सत्य हो ?
–वास्तवमा हाम्रो व्यवसायमा परिपक्वता आउनु जरुरी रहेको छ । पर्यटक सङ्ख्या पनि बढेको छैन गन्तव्य पनि बढेको छैन् । तर हामी कहाँ टुर अपरेटर, ट्रेकिङ एजेन्सी होटेलहरु खुलीरहेका छन् । अर्काै कुरा यहाँ नयाँ सेवा नयाँ उत्पादन दिनमा कमी छ । कसरी पर्यटक लोभ्याउने भन्दा अरुले दिएको भन्दा मूल्य घटाएर दिने गरिन्छ । त्यसले यस पर्यटन क्षेत्रलाई नै हानी गर्छ । तसर्थ त्यतातिर हामी अनुगमन पनि गर्ने कार्यमा लाग्ने तरखरमा छौँ । मन्त्रालयले पनि काम गरिरहेको छ त्यो भयो भने विभिन्न कुरामा नियन्त्रण हुन्छ ।
अनुगमनको कुरा गर्नुभयो, खप्तड क्षेत्रमा पूर्वमुख्य सचिव लिलामणि पौडेल जानु भएको रहेछ । उहाले के भन्नुभयो भने खप्तड क्षेत्रका लागि म हुँदै पनि धेरै बजेट गएको थियो, त्यसैले यो हिसाबले यो ठाउँ सुविधाजनक होला पर्यटकलाई सजिलो होला भन्ने सोचेको थिएँ । मैले त त्यस्तो पाइन् भन्नुभयो । यस्तोमा अनुगमन गर्ने निकाय को ?
–यसमा चाहीँ मन्त्रालय अन्तर्गत विभिन्न संस्थाहरु रहेका छन् त्यसमध्ये हामी पनि एक हो । हाम्रो जिम्मेवारी भनेको गन्तव्यको प्रवद्र्धन हो । त्यस क्षेत्रको कुरा गर्दा त्यहाँको विकासका लागि एउटा मन्त्रालय अन्तर्गतकै खप्तड विकास समिति रहेको छ । उहाँले त्यहाकै समितिलाई भन्नुभएको हुन सक्छ ।
रारा तालकै कुरा गर्दा पनि त्यस क्षेत्र पर्यटकीय दृष्टिले राम्रो छ । स्वर्गीय राजा महेन्द्रले पनि त्यस तालको बयान गर्दै रारा कि अप्सरा भनेर कविता पनि रचना गरेका थिए । तर त्यस क्षेत्रमा विकासको पूर्वाधार एकदमै न्युन छ त्यसको छेउमा कफि तथा चिया पिउन मन लागेमा त्यस्तो ठाउँ पनि छैन् यस्तो अवस्थामा पानी हेर्नकै लागि त्यहाँ को जान्छ ?
यो अलि अगाडिको कुरा हो । अहिले त्यस क्षेत्रमा धेरै विकास भएको छ जुम्लासम्म मोटर बाटो पुगेकाले रारा जाने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । होटेलहरु पनि त्यस क्षेत्रमा थपिनै रहेको छ । विकास भनेको एकचोटी हुने कुरा नभएकाले विस्तारै हुँदै छ । पहिले विमानस्थल पनि त्यति राम्रो थिएन् । अहिले परिवर्तन भएको छ ।
पर्यटन बोर्डले खर्च गरेको रकम पहुँचवालमा पुग्यो या पुगेन यसको ख्याल नगरी खर्च गर्ने गर्दछ जसले प्रचारप्रसारको काम पनि स्तरीय हुँदैन् ? भन्ने आरोप छ , के भन्नुहुन्छ ?
–हामीले नेपालको पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने र नेपालको पर्यटनको प्रचारप्रसार गर्ने हाम्रो काम नै हो । त्यही हिसाबले हामीले बजेट बनाउँदा व्यवसायीहरुको छाता संगठनसँग छलफल गरेर नै बजेट बनाउने गर्दछौँ । र हामीसँग बाहिर जाने पर्यटन मार्केटिङको कार्यक्रममा प्रायः निजी क्षेत्रकै मानिसहरु हुने गर्दछन् । त्यही हिसाबले उहाहरुकै समन्वयमा हुने गरेको छ ।
पटक पटक सरकार परिवर्तन हुँदा काम गर्न कतिको गाह्रो हुन्छ ?
– सरकारमा बुझेका मानिसहरु आइदिएमा सरकार परिवर्तन भएमा पनि केही फरक पर्दैन् । नयाँ व्यक्ति आउँदा उनीहरुलाई शुरुमा बुझ्नै केही समय लाग्छ । हाम्रो लागि त मन्त्री भन्दा पनि मन्त्रालयका सचिवहरुसँग धेरै काम हुन्छ । यसकारण मन्त्री फेरिए पनि सचिवहरु परिवर्तन नभइदिएमा राम्रो हुन्थ्यो ।
नियुक्त लगत्तै मन्त्रीहरुको पहिलो काम नै सचिव फेर्ने हुन्छ । काम गर्न गाह्रो भएरै मन्त्रीहरुले यस्तो निर्णय लिनु परेको हो ?
–हामी त कसैकालागि सहयोगी, कसैका लागि असहयोगी भएर काम गर्दैनौं । खासमा आफ्नो अनुकुलका मान्छे ल्याउने परिपाटी हो ।
प्रशंग बदलौं, भन्ने गरिन्छ कुनै पनि सफल व्यक्तिको वर्तमानलाई होइन, उसका जीवनका संघर्षलाई हेर्नुपर्छ । सफलतापछाडि संघर्ष भइ नै हाल्छ । यो संघर्ष बुझ्न विगत कोट्याउनु पर्ने हुन्छ । तपाईको बाल्यकाल कसरी बित्यो, कहाँ पढ्नुभयो ?
मेरो जन्म वि.सं २०३१ मसिंर २८ गते बर्दियाको बगनाह भन्ने ठाउँमा भएको हो । मेरो हाइस्कुलसम्मको शिक्षा त्यही भयो । त्यहाँको चुरे माध्यमिक विद्यालयमा भएको हो । त्यसपछि इन्टरमिडियट पढ्नका लागि त्यस क्षेत्रमा विद्यालय नभएकाले काठमाडौं आएँ ।
त्यता तिरबाट काठमाडौं आउने विद्यार्थी कति हुन्थे ?
–कमै हुन्थे । केही विद्यार्थी सुर्खेत नेपालगन्जतिर जान्थे । त्यसबेला काठमाडौंमा पढ्ने भनेर हामी तीन जना मात्र आएका थियांै । काठमाडौंका सरकारी कलेजहरुमा २०४६ सालको आन्दोलनमा नारा जुलुस भइरहन्थ्यौँ । त्यति बेला काठमाडौंमा निजी कलेज दुई ओटा मात्र थिए । सिद्धार्थ वनस्थली र भ्याली । सरकारी कलेजमा नारा जुलुसका कारण त्यति पढाई पनि नहुने भएकाले लखनऊ घुम्न गएँ । त्यहाँको पढाई देखेपछि शिद्धार्थ बनस्थलीमा दुई महिना पढेर भारत गएँ । मैले इन्टरमिडियट अर्थातक अहिलेको प्लस टु विज्ञानमा गरेको थिएँ । त्यसपछि म फेरि काठमाडौंमा नै आए । घरबाट अलिकति देश बुझनु पर्छ भनेर नेपाल आउन भन्नुभयो । अनि काठमाडौं आएँ । साइन्समा राम्रो अंक आएन । त्यसपछि धेरै अंक नआउने साइन्स भन्दा कमर्स पढ्दा बेस होला भनेर कमर्स पढ्न थालेँ ।
सर्टिफिकेट लेभलमा साइन्स लिनेहरु धेरैले पछि डाक्टर, इञ्जिनियर हुने लक्ष्य राखेका हुन्छन् । तपाईको लक्ष्य के थियो ?
–एसएलसीसम्म म राम्रै पढ्ने विद्यार्थीमा गनिन्थेँ । त्यो बेला राम्रो अंक आएपछि साइन्स पढ्नु पर्छ भन्ने मान्यता पनि थियो । के पढ्दा ठीक के बेठीक भन्ने खासै ज्ञान पनि थिएन । पढ्नु पर्छ भन्ने मात्रै थाहा थियो । घरमा जे भन्नुहुन्थ्यो त्यो हामी मान्थ्यौं । पढ्ने सन्दर्भमा पनि त्यही हो । अहिलेको जस्तो चलन थिएन त्यो बेला । साइन्स नपढ्ने निर्णय गरेपछि कमर्स पढ्न थालेँ । मलाई त्यसमा रुचि पनि थियो । शंकरदेवबाट बिकम र एमबिए गरेँ ।
साइन्स छाडेर कमर्समा गएको एक विद्यार्थीको करिअर पर्यटनमा बन्यो, यो कसरी भयो ?
–शंकरदेव पढ्दा कसैले बाटोमै जागिर खुलेको सुनायो । मेरो १०–१५ जनाको समकालीन साथीहरुको समूह थियो । हामी सबैले आवेदन दियौं । दसैँको बेला थियो त्यो । यता फारम भरेर दसैं मनाउन गाउँ गएँ । फर्केर परीक्षा दिएँ । नाम निस्कियो । जागिर शुरु भइहाल्यो । जागिरका लागि दिइने परीक्षाको मेहनत नगरेको होइन धेरै गरियो । तर शुरुवाती प्रयासमै सफल भएकोले धेरै संघर्ष गर्नु परेन ।
तपाईको परिवारको पृष्ठभूमी राजनीतिसँग जोडिएको छ तपाई आफैलाई राजनीतिमा रुचि भएन् ?
मेरो रुचि भन्दा पनि राजनीतिमा संलग्नता चाहीँ थियो । २०४६ सालको जनआन्दोलनमा हामी एसएलसी दिएर बसेका थियौँ । त्यतिबेला हामी राजनीतिमा संलग्न थियौँ, राजनीतिमा लागेका पनि थियौँ । त्यो बेला मेरो परिवार पनि राजनीतिमा संलग्न थियो । पछि राजनीति भन्दा पनि करिअरमा ध्यान दिनु पर्छ जस्तो लाग्यो । शकरदेवमा पढ्दा राजनीतिले तान्थ्यो । प्रत्यक्ष सहभागी चाहिँ भइनँ । आफूले सोचे जस्तो आदर्श राजनीतिमा हराउन थाल्यो । अनि मोह घट्दै गयो ।
राजनीतिले अलिकति कोल्टे फेर्दा अवसर आइहाल्दो रहेछ । आफ्ना साथीभाईहरु सांसद मन्त्री भएको देख्दा मनमा हलचल हुँदैन ?
–हुन्छ । प्रभाव त परिहाल्छ । तर राजनीतिमा पनि प्रतिस्पर्धा नै हुन्छ । अवसर सबैलाई प्राप्त हुँदैन । अहिलेको राजनीति ठीक छैन । राजनीति ठीक नभए पनि समाजका अरु अंग संस्थाहरुले आफ्नो धर्म नछाडि सशक्त भए भने देश विकास हुन्छ भन्ने लाग्छ । म पर्यटनमा छु । यो क्षेत्रको विकास गर्न सकियो भने पनि देशको सेवा नै हुन्छ । यसकारण जहाँबाट भए पनि अलिकति भए पनि देशलाई योगदान दिन पाए मलाई पुग्छ । राष्ट्रकालागि अलिकति योगदान दिन सकेँ भने जीवन सफल भएको महशुस गर्नेछु
तपाईले आइएससीमा राम्रो अंक ल्याउनु भएको भए जीवनको मोड अर्कोतिर जान सक्थ्यो । त्यो एक टर्निङ प्वाइन्ट थियो । त्यो टर्निङ ठीक लक्ष्यका लागि भयो कि बेठीक ?
–त्यो पोइन्टलाई हेर्दा अहिले मलाई सकारात्मक नै लाग्दछ । तर त्यति बेला नकारात्मक जस्तो लागेको थियो । किनभने कम अंक आउनु, फेल हुनु, विषय फेरेर पढाइ अगाडि बढाउँदा खुसी हुने कुरा थिएन ।
साइन्समै केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थिएन ?
–रिजल्ट आएको दिन त म रोएको छु । तर पछि सोच्दा ठिकै हो जस्तो लाग्यो । जो मान्छे सन्तुलन मिलाएर काम गर्छ त्यसले सफलता पाउँछ जस्तो लाग्छ ।
अन्त्यमा तपाइलाई लागेका कुराहरु...
–आन्तरिक पर्यटन विकासको सम्भावना धेरै छ । यसबारे छलफल पनि धेरै भएको छ । त्यही महत्वलाई हेरेर हामीले घुमफिर वर्ष २०७३ पनि भनेका छौँ । घुम्नुका धेरे फाइदा भए पनि हाम्रो नेपाली समाजले बुझन सकेको छैन् । घुम्न जाँदा आफ्नै देश चिनिने देशलाई आर्थिक रुपले योगदान हुने ज्ञान बढ्ने भएकाले घुम्न नजानेलाई घुम्न जानुहोस र सेवा दिने होटल विभिन्न ट्राभल एजेन्सीलाई नेपाली पनि पर्यटक नै हुन भन्न चाहान्छु । वास्तवमा पैसा खर्च गर्ने पर्यटक नै हुन अन्य देशबाट आएको फरक छाला र रङ भएका मात्रै पर्यटक हुन भन्ने विचार नराखौँ । यसो भएमा दिगो पर्यटन विकास हुन्छ तसर्थ घुमफिर वर्षमा घुम्न तथा भ्रमण गर्न अनुरोध गर्दछु ।
https://youtu.be/E7sY0_vRH3g