आइसीसी विश्व क्रिकेट लिगमा पपुवा न्युगिनीले नामिवियालाई हरायो, नेपालकाे यात्रा कठिन
कात्तिक ७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको दुवै खेलमा पपुवा न्युगिनीले नामिवियालाई पराजित गरेको छ । यससँगै पपुवा न्युगिनी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सिरिजको चौथो चरणका दुई खेल खेल्न पपुवा न्युगिनी पुगेको नामिवियाले दुवै खेलमा पराजय ब्यहोरेको हो । शुक्रबार ५ विकेटले हारेको नामिविया आइतबार ६ विकेटले पराजित भएको छ ।
भ्रमणकारी टोलीले दिएको २१३ रनको लक्ष्य घरेलु टोलीले ४ विकेट गुमाएर १२ बल बाँकी छँदै पूरा गर्याे।
घरेलु टोली पपुवा न्युगिनीका लागि बानी मोरियाले सर्बा्धिक ६७ र कप्तान असद भालाले ५५ रनको अर्धशतकीय पारी खेले । उसका लागि सेसे बाउले अविजित ४० रन बनाए ।
विश्वकप छनौटमा नेपालको कठिन बाटो
चौथो चरण खेलिसकेको नेपाल लिग तालिकाको छैटौं स्थानमा छ । ३ जित र ५ हार ब्यहोरेको नेपालको ६ अंक छ । चौथो चरणका दुई खेल खेल्न बाँकी केन्याको पनि ६ अंक छ ।
यस्तोमा नेपाल लिगको शीर्ष चारभित्र पर्न नेपाललाई सहज छैन । नेपालले लिगका बाँकी ६ खेल खेल्न बाँकी छ । जसमा हङकङ, केन्या र युएई छन् । युएईको प्रदर्शन लिगमा उत्कृष्ट नदेखिएपनि हङकङ र केन्या अहिले नेपालभन्दा अगाडि छन् ।
नेपालले लिगमा नामिवियालाई दुवै खेलमा हराएको थियो भने नेदरल्याण्ड्सलाई एक खेलमा पराजित गरेको थियो । साथै पपुवा न्युगिनी र स्कटल्याण्डसँग सबै खेलमा पराजित भएको नेपालले नेदरल्याण्ड्ससँग एक खेल हारेको थियो ।
एकदिवसीय विश्वकप यात्रामा रहिराख्नका लागि पनि नेपालले आसन्न सबै खेलहरुमा स्पष्ट जित हासिल गरेर मात्र पुग्दैन आफूभन्दा अगाडि रहेका टोलीहरुको नतिजामा पनि भर पर्नुपर्ने भएको छ ।