आइफोन सेभेन किन्दै हुनुहुन्छ ? यो हेर्नुहोस्
कात्तिक ८ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङको अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी नोट सेभेन पड्किएपछि उत्पादन नै बन्द भएको अवस्थामा अमेरिकन प्रविधि कम्पनी एप्पलको उत्पादन आईफोन सेभेन पनि पड्केको समाचार आएको छ ।
हालैमात्र विश्वबजारमा आएको एप्पलको बहुप्रतिक्षित आईफोन सेभेन पनि पड्केर आगो लागेको खबरले प्रविधि बजार तताएको छ ।
अस्ट्रेलियाको साउथ कोस्टमा बस्दै आएका म्याट जोन्सले जलिरहेको एउटा कारको भिडियो सार्वजनिक गर्दै आगो लाग्नुको कारण आईफोन सेभेन पड्किनु रहेको जनाएका छन् ।
रिपोर्ट अनुसार उनी आफ्नो आईफोन सेभेन केही कपडासँगै कारमा राखेर नजिकैको समुद्रमा पौडिन गएका थिए । जब उनी फर्किए तब उनले आफ्नो कारबाट धुवाँ निस्केको देखे । उनका अनुसार कारमा आगो लाग्दा भित्री भाग जल्न पुगेको छ ।
’कारमा राखिएको पाइन्टको गोजीभित्रबाट जब मैले आईफोन सेभेन निकालेँ तब पड्केर पुरै पग्लिएको अवस्थामा थियो’, न्यूज सेभेनलाई जोनले बताए, ’मैले बोकेको आईफोन सेभेन केबल एकसाता मात्रै पुरानो थियो ।’
अस्ट्रेलियाको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजका अनुसार एप्पललाई यस घटनाको जानकारी गराइएको छ । यसबारेमा एप्पलले जाँच थाल्ने भएको छ । जाँचमा पड्किएको आईफोन सेभेन रहेको खराबीबारे छानबिन गरिने भएको छ ।
सामसङ नोट सेभेनपछि आईफोन सेभेन पनि विस्फोट हुँदा मोबाइल कम्पनीहरुले चाल्ने कदमबारे प्रश्न उठिरहेको छ । लगातार स्मार्टफोन पड्किरहँदा स्मार्टफोन कम्पनीले ठूलो कदम उठाउनुको साटो केबल ब्याकअपवाला ब्याट्रीमात्रै लन्च गरेर पन्छिने गरेका छन् ।
I Phone 7