मनोरञ्जन

बिहेपछि घरजममै मस्त नेपाली हिरोइन

बिहेपछि घरजममै मस्त नेपाली हिरोइन

 

 अधिकांश नेपाली हिरोइनले बिहेपछि फिल्म करिअरलाई ‘ब्रेक’ लगाएको पाइन्छ । कतिपय भने बिहेपछि हिरोइन बनेका पनि छन् । झरना थापा र रेखा थापा बिहेपछि पनि अभिनयमा निरन्तर छन् । रेखाले त पति छविराज ओझासंग सम्बन्ध विच्छेद गरेर एकल जीवन बिताइरहेकी छिन् । झरना भने सुनीलकुमार थापासँग बिहे गरेपछि मात्रै होम प्रोडक्सनको ‘धर्मसंकट’ फिल्मबाट हिरोइन बनेकी हुन् ।

‘मेरो जीवन साथी मलाई बुझ्ने, कलाकारको सम्मान गर्ने, बिहेपछि पनि मलाई स्वतन्त्र रूपमा फिल्म गर्न दिने हुुनुपर्छ,’ अविवाहित होउन्जेल अधिकांश हिरोइनले भन्ने गरेका छन्, ‘मलाई फिल्म गर्न नदिनेसँग म बिहे नै गर्दिनँ । बिहेपछि पनि म फिल्ममै निरन्तर लाग्नेछु ।’ तर, अपशोच, अधिकतर हिरोइनको यो ‘अठोट’ हावादारी साबित भएको छ । बिहेपछि पनि फिल्मकारितालाई निरन्तरता दिन सफल हिरोइन निकै कम छन् ।

अरुणिमा लम्साल बिहेपछि पनि फिल्म अभिनयलाई निरन्तरता दिने योजनामा थिइन् । पतिसँग मिलेर फिल्म निर्माण गर्दै कालान्तरमा निर्देशक बन्ने सोच थियो उनको । बैंकर अमीत अर्यालसँग बिहे गरेको केही समयसम्म त उनी अभिनयमै रहिन् । तर, पछि उनले फिल्मकारिता त्याग्नुप¥यो । छोरीकी आमा भएपछि पनि उनले ‘उर्वशी’ र ‘पीपल’ फिल्ममा अभिनय गरिन् । उनलाई पनि ‘भविष्य’ सुन्दर बनाउने हुटहुटीले सतायो । जसकारण पति र छोरीका साथ उनी उडिन् अमेरिका ।

फिल्म अभिनयमा राम्रै नाम कमाएकी अभिनेत्री जल शाहलाई पनि अमेरिकाले लोभ्यायो । फिल्म हात पर्ने क्रम कम भएपछि अमेरिका उडेकी जलले त्यहीँ बिहे गरिन्– शरद रिमालसँग । बिहेपछि फिल्मकारिता चटक्कै छाडेकी जल केही दिनका लागि स्वदेश आएकी छिन् । अझै पनि उनी फिल्म अभिनयमा मन रहेको बताउँछिन् । तर, अस्वाभाविक मोटाइका कारण उनी अब पुनः हिरोइन बन्ने सम्भावना न्यूनै देखिन्छ ।

आकाश शाहसँग सम्बन्ध विच्छेद गरेपछि सञ्चिता लुइँटेलको निखिल उप्रेतीसँग प्रेम भयो । केही समय गुपचुपमा प्रेम गरेका उनीहरू दुवैले दोस्रो बिहे गरे । बिहेपछि वर्षाैटे दुई सन्तानलाई जन्म दिएकी सञ्चिताले ‘नाइँ नभन्नू ल–३’ बाट पर्दामा ‘कमब्याक’ गरिन् । त्यसपछि उनले ‘शिवा’, ‘आरोप’, ‘राधा’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । सञ्चिता बच्चाबच्ची स्याहार्दै फिल्म अभिनयलाई निरन्तरता दिइरहेकी छिन् ।

निर्देशक शंकर घिमिरेसँग प्रेमपछि बिहे गरेकी ऋचा घिमिरेले ‘ब्रेकफेल’ र ‘तुलसी’ फिल्म निर्माण गरिन् । फिल्मकारितामा लागि रहे तापनि अमेरिका ‘ट्राई’ गर्नचाहिँ उनीहरूले छाडेनन् । अन्ततः शंकर र ऋचा पनि अमेरिका उडे । उनीहरूको तुलसी प्रदर्शन हुनै बाँकी छ । बिहेपछि पनि फिल्ममै लागिरहने अभिव्यक्ति दिने गरेकी थिइन् बिपना थापाले । तर, उनी पनि फेल खाइन् । भारतीय नागरिक आशुतोष भारद्धाजसँग बिहे गरेपछि उनी पतिको घर मथुरामा घरजममा व्यस्त भइन् ।

‘दुलही’ फिल्मबाट हिरोइन बनेकी सुमिना घिमिरेले पनि बिहेपछि फिल्म अभिनय चटक्कै छाडिन् । काभ्रेका रोशन सापकोटासँग बिहे गरेपछि उनले फिल्म तथा सञ्चारकर्मीसँग सम्बन्ध विच्छेद नै गरिन् । केही महिनाअघि छोरी जन्माएकी सुमिना पुनः फिल्ममा नफर्किने सोचमा छिन् । बिहे गर्नु केही महिनाअघि नै उनले अघोषित रूपमा फिल्म अभिनयबाट सन्न्यास लिएकी थिइन् ।

करिअर ओरालो लाग्दै गएपछि रेजिना उप्रेती पनि घरजममा लागिन् । तत्कालीन युके निवासी सुरज पोखरेलस“ग बिहे गरेकी रेजिना पुनः फिल्म अभिनयमा जम्ने सोचमा त छिन्, तर त्यसका लागि त फिल्म हात पर्नुप¥यो नि ! उनी अचेल घरगृहस्थीमै व्यस्त छिन् ।

पहिलो बिहे सम्बन्ध विच्छेदमा टुंगिएपछि अभिनेत्री सौजन्या सुब्बा निर्माता रोज राणासँग गहिरो प्रेममा परिन् । झन्डै दुई वर्षको उनीहरूको प्रेम झै–झगडा र मुद्धामामिलामा टुंगियो । त्यसको केही समयपछि सौजन्याले अभिनेता भूपेन चन्दसँग बिहे गरिन् । भूपेनले पनि जेठी पत्नीलाई छाडेर सौजन्यालाई कान्छी बनाए । केही समयपछि उनी अमेरिका उडे ।

हर्षिका श्रेष्ठले बिहेपछि पनि फिल्म अभिनयलाई निरन्तरता दिने कोसिस गरेकी छिन् । तर, उनलाई न पहिला, न अहिले नै स्थापित ब्यानरका फिल्मको अफर आउँछ । भारतीय नागरिक प्रसन झुनभुनवालसँग बिहे गरेकी हर्षिका फिल्म हात पार्ने दाउमा त छिन् । तर, उनले सोचजस्तो कहाँ हुदो रैछ र !

गुपचुपमा बिहे गरेकी गरिमा पन्त पति हरि शर्माका साथ बेल्जियममै बस्ने गरेकी छिन् । पहिला फिल्म अभिनय जिन्दगीभर नछाड्ने प्रतिबद्धता जाहेर गर्ने गरेकी गरिमा अचेल गृहस्थ जीवनमा व्यस्त छिन् । गरिमा हरिकी दोस्री पत्नी भएको बताइन्छ । ‘चक्रब्यूह’, ‘इन्द्रेणी’, ‘बुहारी’, ‘मेरी आमा’लगायतका फिल्मकी अभिनेत्री सुमिना श्रेष्ठले बिहेपछि अभिनय चटक्कै छाडिन् । धादिङकी सुमिना पनि फिल्ममै करिअर बनाउने सपनाका साथ रंगिन दुनियामा होमिएकी थिइन् ।

ऋचासिंह ठकुरीले बिहे गरेपछि ‘सुपर गोर्खे’ नामक फिल्म निर्माण थालेकी थिइन् । तर, त्यो फिल्म अहिलेसम्म रिलिज भएको छैन । त्यसैगरी, झरना बज्राचार्यले मलेसियन व्यापारी राहुल अग्रवालसँग बिहे गरेर अभिनय कर्म छाडिन् ।

बिहेपछि घरव्यवहारको जिम्मेवारीमा परिने भएकाले पनि अधिकांश हिरोइनले फिल्मकारितालाई ‘बाई–बाई’ गरेको हुन सक्ने मूल्यांकन गर्न सकिन्छ । त्यसका साथै पति तथा घरपरिवारका सदस्यले फिल्ममा काम नगर्न दबाब दिनाले पनि कतिपयले मनको इच्छा मनमै मार्नुपरेको छ ।

नयाँ पत्रिका

Nepali Heroin

विशेष