कभर स्टोरी भिडियो मेरो परिवार मेरो कथा

करिश्मा भन्छिन्, ‘लोकमानको कुरा के हो थाहा छैन’ (भिडियोसहित)

करिश्मा भन्छिन्, ‘लोकमानको कुरा के हो थाहा छैन’ (भिडियोसहित)

‘करिश्मा मानन्धर’ नेपाली समाजकालागि यो नाम नै काफी छ । उनका बारे धेरै भनिरहनै पर्दैन । समकालीन धेरै नायिकाहरु अहिले गुमनाम छन् । यी नायिका भने अहिले पनि ‘हट केक’ जस्ती । अभिनय, फिल्म निर्माण र सौन्दर्यका कारण करिश्माको करिश्मा नेपाली रजतपटमा उस्तै छ । यो सफलता, चर्चालाई राजनीतिले कहाँ पुर्याउँछ उनलाई थाहा छैन । तर करिश्मा अहिले फोहोरी खेल भनिने राजनीतिको परीक्षा दिइरहेकी छन् । उनले भनिन्, ‘अन्य क्षेत्रको परीक्षामा फेल भईनँ । राजनीति गाह्रो रैछ, तर पास हुन्छु ।’

जहाँ समस्या त्यहाँ सम्भावना

अधिकाशं युवाहरुले समस्याको पोको देखेको बेला करिश्मा मानन्धरले नेपालमा प्रशस्तै सम्भावना देखेको बताउँछिन् । नयाँ शक्ति नेपालमा प्रवेश गरेर नयाँ परिचय स्थापित गरेकी सदाबहार सुन्दरी नायिका करिश्मा अहिले राजनीतिको मैदानमा छिन् । खेल जित्न अभ्यास चाहिन्छ । राजनीतिको मैदानमा नयाँ खेलाडी करिश्माले हार्न नजानेको बताउँछिन् । त्यसलै उनी दैनिक नयाँ कुरा सिकिरहेकी छिन् । नयाँ मान्छेहरुको संगतमा उनले नेपालीहरुको बास्तविकताको धेरै नजिक पुगेको छिन । उनकै भाषामा भन्नुपर्दा उनले यतिबेला बिल्कुल नयाँ जीवन बाँचिरहेकी छिन् ।

अन्य वर्षको तुलनामा यो वर्ष करिश्माको लागि फरक बन्यो । उनले दसैं पनि फरक तरिकाले मनाईन् । पहिले टीकाटालो, साथीभाइ भेटघाट, खानपिन आदिमा बित्ने गथ्र्यो । यो पटक राजनीतिक र सामाजिक क्रियाकलापमा सहभागी भएर दसैं बित्यो ।


फेरिएको जीवनशैली

करिश्माको जीवनशैली अहिले फेरिएको छ । आजकाल उनी नत प्रोडक्सन हाउस धाउँछिन । नत निर्माता निर्देशकहरुलाई नै भेट्छिन । उनको भेटघाट आजकाल राजनीति गर्नेहरुसँग बाक्लो छ । समाजका फरकफरक क्षेत्रका मानिसहरुसँग उनको सम्बन्ध जोडिएको छ ।

कहिले सुकुम्बासी बस्ती, कहिले सडक बालबालिकासँंग सरोकार राख्ने संघसस्थामा पुग्ने, सहयोग गर्ने, छलफल गर्ने काममा उनको धेरै समय खर्च हुन्छ । यसको अर्थ उनले चलचित्र चटक्कै छाडेकी भने छैनन् । चलचित्रबाट बिदा लिएँ पनि उनले भन्ने छैनन् । ‘सुहाउँदो भूमिकाका लागि अफर आयो भने काम गर्छु ।’ उनले भनिन् ।


परिवर्तन अपराध होइन

करिश्मा आफूलाई समयअनुसार चल्न जानेको बताउछिन । भन्छिन्, ‘परिवर्तन प्रकृतिको नियम हो । त्यसैले समयअनुसार परिवर्तन आवश्यक छ । म परिवर्तन भएको हो, कुनै अपराध गरेको होईन । बजारमा सुनिएका अनैको टिक्काटिप्पणी परिवर्तन नचाहरुले फिजाएको भ्रम हो । यस्तोे टिक्काटिप्पणीले मलाई अगाडि बढ्न उर्जा दिन्छ । ’

‘समयले हिड्ने गोरेटोहरु आफै छुट्याउँछन । पहिले सेलिब्रेटी थिए अहिले जनताको चेलीबेटी भएको छु । पहिला चलचित्र क्षेत्रमा हुदा पनि समाजसेवा गरेकै थिएँ । अहिले जनताहरुको दुख सुख बुझ्दै राजनीतिबाट समाजसेवा गर्न आएको छु । क्षेत्र फरक भए पनि मेरो उद्देश्य समाजसेवा गर्ने हो । मेरो नियत सफा छ ।’


चुनौतीमा सम्भावना देख्छु

करिश्मालाई राम्रोसँंग थाहा छ अब उनको चाहनाले मात्रै केही हँुदैन । हिउँदमा पानी पर्दैन । चैतमा जाडो हुँदैन । त्यसैले उनले समयले दिएको परिवर्तन स्वीकार्ने हिम्मत राख्छिन । ‘चुनौतीमा सम्भावना देखेकै कारण अभिनेतृबाट नेतृ भएकी हुँ ।’ उनले भनिन् ‘राजनीति समाज परिवर्तन गर्ने अश्त्र हो ।’

राजनीति शुरु गरेयता करिश्मा नेता स्टाइलका कुराकानी गर्न जान्ने भएकी छिन् । पहिले कलाकारितासँग जोडिएकी थिइन् । अहिले समाजसँग । कलाकारिताले मनोरञ्जनसँग सकारात्मक सन्देश दिन्छ । तर यो अप्रत्यक्ष हुन्छ । राजनीतिले प्रत्यक्ष सन्देश दिन्छ । दुवै समाजसेवाका माध्यमहरु हुन् । राजनीतिले सोझै समाज सेवा गर्छ ।


राजनीतिः गाह्रो तर सम्भव

उनले नयाँ शक्ति नेपाल काम गर्न गाह्रो भएको महशुस गरेकी छिन । भन्छिन‘ म जुनसुकै पार्टीमा गएको भए पनि गाहे नै हुन्थ्यो । किनकी कलाकारिता गरेको मान्छेले राजनीतिको रणनीति बुझ्न गाहे हँुदो रैछ । तर, असल नियत भएको मान्छेको मुल्यांकन जनताले गर्छन । काम गरेर जनतालाई देखाउने भनेको पद पाए पछि हो । अहिले जनतासँंग नजिक हुने समय हो । ’

नयाँ शक्ति नेपालसँंग जोडिएको छोटो समयमा नै करिश्माले धेरै अनुभव बटुलिसकेकी छिन । पार्टीको आन्तरिक कलह मिलाउन अधिकांश समय खर्चिने हुनाले सबै पार्टीले जनताको बारेमा सोच्न फुर्सद नभएको उनको अनुभव छ । भन्छिन ‘अन्य पार्टीजस्तै नयाँ शक्ति पनि यो रोगबाट अछुतो छैन । देशपछि पर्नुको मूल कारण नै पार्टीहरुको आन्तरिक कलह र अरुको खुट तान्ने प्रवृत्तिले गर्दा हो । जे गर्न हिडेको हो त्यो गर्न छोडेर हामी धेरै आन्तरिक कुरामा विबाद गर्छौ । जसको कारण दलहरुलाई जनताले विश्वास गर्न छाड्छन् ।


पार्टीमा विबाद हुनु सामान्य

पार्टीभित्र विवाद हुनु सामान्य कुरा हो । विभिन्न क्षेत्रका मानिसहरु मिलेर पार्टी बनाउँछन् । त्यहाँ विचार र धारणाहरु फरक हुन्छन् । फरक फरक विचार भएका मानिसहरु एकठाउँमा आउँदा विवाद स्वभाविक हुन्छ । विवाद, फरक धारणा भएन भने त्यो पार्टी जीवन्त पनि हुन सक्दैन ।

‘विचारको घर्षणमा झिल्का निस्कन्छन् । त्यस्ता झिल्का पार्टीमा आउँछन् जान्छन् । हामी त्यसको हिसाब गर्न भन्दा जनताको बारेमा सोच्न समय दिन्छौ । व्याक्तिगत स्वार्थ भन्दा देशको स्वार्थलाई हरेर अघि बढ्छौं । विचार राख्ने स्वतन्त्रता सबैलाई छ । पार्टीमा बस्ने, जाने स्वतन्त्रता सबैलाई हुन्छ । हामी विभेदको राजनीति गर्ने पक्षमा छैनौं । म पनि नियमित रुपमा बैठकमा उपस्थित भएर आफ्नो विचारहरु राखिरहेकी छु । ’

नयाँ शक्तिमा उनलाई त्यति ठूलो समस्या छैन । सबै क्षेत्रबाट आएका मानिसको जमघट हुने भएकाले कहिलेकाही समझदारीको कमी हुने उनको अनुभव छ । उनी भन्छिन ‘ म ग्ल्यामर क्षेत्रबाट राजनीतिमा प्रवेश गरेको मान्छे ,कोही कोही मानिसहरु यसले के नै गर्न सक्छे र ? भन्ने पनि छन । तर त्यो ठूलो समस्या होइन । किनकी संसारमा सबै जना सबै क्षेत्रमा दक्ष हुँदैनन् । त्यस्ता टिक्काटिप्पणीहरुबाट मैले धेरै कुरा सिकेको छु ।’


राजनीतिमा खरो उत्रन्छु

‘अहिले म कलाकार होइन राजनीतिज्ञ भएर आएकी हुँ । लगन, मेहनत, समर्पणले मानिसलाई सफल बनाउँछ । कलाकारिता म यस्तै कारणले सफल भएकी थिएँ । अब राजनीतिमा अर्को एक गुण ‘इमानदारीता’ थपेर राजनीतिमा समर्पित हुन्छु । सफल पनि हुन्छु ।

जन्मेपछि मृत्यु निश्चित छ । यो संसारबाट बिदा लिनु अघि आफ्नो मातृभूमिका लागि केही योगदान दिनुपर्छ भन्ने मेरो मान्यता हो । लिन होइन दिनका लागि राजनीतिमा आएको उनले बताइन । हाम्रो देश हरेक दृष्टिबाट सुन्दर छ । यो सुन्दर देशलाई कुरुप अरुले होइन हामी आफैले पारेका हौं । ‘हामी एकअर्कामा नमिल्नु कमजोरी हो । त्यही कमजोरीलाइ शक्तिमा बदल्ने हो भने देशमा परिवर्तन सम्भव छ । त्यो पनि हाम्रै पालामा । उनले भनिन ‘अब पनि हामी परिवर्तन नहुने हो भने देश यस्तै भइराख्नेछ ।’


लोकमानको कुरा के हो थाहा छैन

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ । यो विषय जटिल छ भन्ने करिश्माको ठम्याई छ । लोकमान प्रकरणमा धेरै मानिसले धेरै खाले विचार, धारणा, जानकारी सार्वजनिक गरिरहेका छन् । लोकमानको इतिहास पनि पुरानो छ । यसकारण लोकमानबारे सही के गलत के ? भन्ने कन्फ्यूजन सिर्जना भएको छ उनकालागि । उनले भनिन्, ‘कुरा के हो म ठ्याक्कै भन्न सक्दिनँ ।’

भारत र चीनबीचमा रहेकोले नेपालले सन्तुलित व्यवहार गर्दै विकासमा अगाडि बढ्नु पर्ने उनको धारणा छ । उनले आन्तरिक कलह व्यवस्थापन गर्न कठिन भइरहेको बताइन । ‘हामी आपसमा लड्छौं, त्यसैमा छिमेकीले फाइदा उठाउँछन् ।’ उनले भनिन् ।

प्रस्तुतिः सागर बुढाथोकी

राजनीति करिश्मा मानन्धर लोकमान नायिका

विशेष