सामसुङ र आइफोनको ७ अंकित फोन पड्किएपछि एप्पलले थाल्याे अनुसन्धान
एजेन्सी । केही समय देखि सामसुङ कम्पनीको ग्यालेक्सी नोट सेभेनको ब्याट्री पड्किएर बजारबाट मोबाइल फिर्ता लिइरहेको छ । विश्वका अधिकांश विमान कम्पनीले आफ्नो उडानमा नोट सेभेन बोक्न प्रतिबन्ध लगाएको छ । तर सोही बेला एप्पलको नयाँ मोबाइल आइफोन सेभेन पनि पड्किएको खबर आएपछि एप्पलले भने अनुसन्धान सुरु गरेको छ । म्याट जोन्स नामका एक अस्ट्रेलियालीले कारमा छोडेको आइफोन सेभेन पडकिएर कारलाई क्षति पुगेको दाबी गरेका थिए । उनको यो दाबीलाई अस्ट्रेलियाको च्यानल सेभेनले फोटोसहित प्रसारण गरेको थियो । उनले आइफोन गोजीमा रहेको प्यान्ट जलेको पनि फोटो खिचेका छन् ।
एक हप्तामात्र अघि किनेको आइफोन आफूले कतै नखसालेको र अर्कै चार्जरमा पनि नजोडेको दाबी गरेका छन् । एप्पलको प्रतिस्पर्धी सामसुङले ग्यालेक्सी नोट सेभेनमा ब्याट्री तातिएर पड्किने यस्तै समस्या आएपछि अनुसन्धान सुरु गरेको थियो । सुरुमा उसले रिप्लेसमेन्ट गरे पनि त्यसमा पनि समस्या देखिएपछि नोट सेभेनको उत्पादन र बिक्री वितरणै बन्द गरेको थियो । अहिलेसम्म उसले कारण पत्ता लगाउन सकेको छैन । एप्पलका प्रवक्ताले आइफोन सेभेन पड्किएको खबरबारे अनुसन्धान थालेको प्रतिक्रिया दिएको छ। ‘हामी म्याट जोन्ससँग सम्पर्कमा छौँ र यसबारे छानबिन गर्दैछौँ’ एप्पल प्रवक्ताले बताए ।
I Phone 7 Samsung 7