मनोरञ्जन

साह्रै बदमास दीपक, बाबुको खल्ती सधै रित्याउँथे

साह्रै बदमास दीपक, बाबुको खल्ती सधै रित्याउँथे

deepak-3-660x330

कात्तिक ९ । मेरो बुवा कृषि विकास बैंकको अधिकृत हुनुहुन्थ्यो । गाउँमा सबैभन्दा पहिले एसएलसी पास गरेको र अफिसर भएकाले उहाँको इज्जत उचो थियो । जागिरको सिलसिलामा विभिन्न ठाउँमा उहाँको सरुवा हुन्थ्यो र म पनि पढ्नका लागि त्यही ठाउँमा पुग्थेँ । १० कक्षा पास गर्दासम्म १० वटा स्कुल चेन्ज गरेँ कि !

तर, म बुवाभन्दा ठीक उल्टो थिएँ । साह्रै बदमास । पछि–पछि त साथीहरूका अभिभावकले आफ्ना सन्तानलाई ‘ध्यान दिएर पढ्, बाबु फेरि दीपकजस्तो बिग्रेलास’ भन्थे । बुवाले मलाई स्कुल छाड्न आउनुहुन्थ्यो । तर, स्कुल पुर्याएर बुवा फर्किनसक्दै पछाडिको झ्यालबाट बाहिर निस्किसकेको हुन्थेँ । स्कुल त महिनामा १० दिन पनि मुस्किलले हाजिर हुन्थेँ ।

भक्तपुर बस्दा निकै सिनेमा हेरियो । सिनेमा हलको साहुको छोरा मेरो साथी थियो । त्यसपछि त के चाहियो ? बुवाको आँखा छल्न स्कुल, त्यसपछि सीधै सिनेमा हल । त्यतिवेला नवदुर्गा हलमा पुराना हिन्दी फिल्म हेरिन्थ्यो । फिल्म हेरिसकेपछि आफू नै हिरो हुँजस्तो लाग्थ्यो । फिल्म हेरेपछि मैले साथीहरूलाई कुनै पनि सिन नबिराई सुनाउँथेँ ।

हाम्रो ग्याङ नै हावा थियो । साथीहरूलाई थर्काउने, सँगैका केटी जिस्काउनेजस्ता गतिविधि पनि खुब गरियो । तर, म कहिल्यै फेल भइनँ । चिट चोर्न जानेकै थिएँ । एकैपटक एसएलसीमा आएर गुल्टिएँ ।

म निकै बदमास भएकाले बुवाको कुटाइ पनि निकै खान्थेँ । उहाँको पनि के लागोस् । आज कुटाइ खायो भोलिपल्ट उस्तै । कतिपय समय त यस्तो गरेँ कि, बुवाको कुटाइ खाने डरले बेलुकी बुवा सुतिसकेपछि घर जान्थेँ र बिहान उहाँ नउठ्दै निस्किहाल्थेँ । तर, मेरा लागि हजुरबुवा निकै प्यारो हुनुहुन्थ्यो । उहाँले निकै माया गर्नुहुन्थ्यो । अहिले पनि दुःख पर्दा मैले उहाँलाई सम्झिन्छु । उहाँ बाँच्न पनि निकै समय बाँच्नुभयो । मेरो छोरा जन्मिसकेपछि मात्र बित्नुभएको हो । मेरी आमाचाहिँ पाँच वर्षको हुँदा बित्नुभएको हो ।

चोर्न पनि म असाध्यै सिपालु थिएँ । बुवाले पैसा ल्याएर हजुरबुवालाई बुझाउनुहुन्थ्यो । मैले टप्काइहाल्थेँ । बुवा र हजुरबुवा दुवैको राम्रोसँग पैसा गन्ने चलन थिएन । मलाई त काइदा ! कहिलेकाहिँबाहेक पैसा चोरेको भेउ नै पाउनुहुन्थेन । मैले चारेको पैसाले त घरै बन्थ्यो होला ।सानैदेखि म हिरो बन्छु भन्दै हिड्थेँ । मेरो शरीरमा शशि कपुर, अमिताभ बच्चनको रगत बगेजस्तो लाग्थ्यो । त्यसैले पनि होला, १४ वर्षकै उमेरमा गाउँमा नाटक लेखेर मञ्चन गरेको थिएँ । नाटकमा मेरो अंकल, भाइ, बहिनीलाई अभिनय गराएको थिएँ ।

यसरी एक्टिङको भूतलाई उतार्दै थिएँ । पछि त आफैँले नाटक लेखर सभागृह, नाचघरमा पनि प्रदर्शन गरियो । मैले सानै छँदा ‘ज्वाइँ चाहियो’ भन्ने नाटक लेखेको थिएँ । लामो समयपछि त्यो नाटक मैले सन्तोष पन्त दाइलाई देखाएँ । त्यो नाटकलाई उहाँले ‘हिजोआजको कुरा’मै देखाउनुभएको थियो ।

सानो छँदाको एउटा घटना, जुन म अहिले पनि सम्झिन्छु । घुम्नका लागि भागेर साथीहरूसँग वीरगन्ज गएका थियौँ । त्यतिवेला नारायणगढ–मुग्लिङको बाटो भर्खर पिच भएको थियो । हामी सात रुपैयाँ भाडा तिरेर वीरगन्ज गएका थियौँ । त्यो पनि ट्रकको माथि बसेर । बाटोमा एक ठाउँमा यात्रुका लागि ट्रक रोकेको थियो । वरिपरि ठुल्ठूला पहरा थिए ।

ती पहरामा मैले साँच्चिकै हीरा देखेको थिएँ । हीरा झल्झली बलिरहेको थियो । मज्जा लागेर लामो समयसम्म हेरिरहेँ । म त अचम्मै । त्यो हीरा टिपेको भएँ, म के हुन्थे हुँला ! त्यो हीरा देखेको फल अहिले पाइरहेको पो हुँ कि !

नयाँ पत्रिका

Deepak Raj Giri

विशेष