लजाउँदा घातक : स्तन क्यान्सर
प्रकाश बुढाथोकी । स्तन क्यान्सरको चेतना फैलाउन, बेलैमा सचेत रहन र समय समयमा परीक्षण गर्ने सन्देश फैलाउन अक्टोवर १३ लाई नो ब्रा डे र अक्टोबर महिना स्तन क्यान्सरका बारेमा सचेतना जनाउने महिनाका रूपमा विश्वभर मनाइन्छ ।
स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गांठागुंठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । विश्वमा महिलालाई लाग्ने क्यान्सरमध्ये सबैभन्दा बढी यो हरेक आठ महिलामध्ये एक महिलालाई हुने गर्छ । हरेक १३ मिनेटमा १ जनाको मृत्युवरण गराउँछ । स्तन क्यान्सरमा १ प्रतिशत पुरुषमा पाइन्छ । विकसित देशमा ८ महिलामा १ तथा एसियाली महिलामा हरेक २२ मा १ जनामा स्तन क्यान्सर पाइने गरेको छ । नेपालमा भएका ५० हजार बढी क्यान्सर रोगीमध्ये ६ हजार महिलामा स्तन क्यान्सर छ ।
स्तन क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्येको सबैभन्दा बढी हुने क्यान्सर हो, भन्ने कुरा देशको प्रमुख अस्पतालको तथ्यांकले पुष्टि गर्छ । तर, वर्तमान अवस्थामा जुन तीव्रताका साथ स्तन क्यान्सरको वृद्धि भइराखेको छ, त्यसअनुसार निकट भविष्यमा स्तन क्यान्सरले पाठेघरको मुखको क्यान्सरलाई धेरै गुणाले उछिन्नेछ भन्ने कुरामा कुनै शंका छैन । यो रोग प्रायः महिलालाई लागे पनि पुरुषहरू पनि प्रभावित हुन्छन् । आजको वर्तमान विश्वमा सबैभन्दा बढी अनुसन्धान भइ राखेको क्यान्सर पनि स्तन क्यान्सर नै हो । स्तन क्यान्सर फैलनु तथा ढिलो निदान हुनुमा महिला बढी पीडित हुने तर जांच गर्ने पुरुष डाक्टर हुने भएकाले महिलाहरू लजाएर घरमै बस्दा, उपचार नगराउंदा क्यान्सर नै बन्ने, झन् फैलने र मृत्यु हुने मौका रहन्छ ।
स्तन क्यान्सर फैलनु तथा ढिलो निदान हुनुमा महिला बढी पीडित हुने तर जांच गर्ने पुरुष डाक्टर हुने भएकाले महिलाहरू लजाएर घरमै बस्दा, उपचार नगराउंदा क्यान्सर नै बन्ने, झन् फैलने र मृत्यु हुने मौका रहन्छ ।
प्रौढ महिलामा तथा पारिवारिक स्तन क्यान्सर भएका आमा, सानीआमा, दिदीबहिनी, आमापट्टिको हजुरआमा वा छोरीमा, चांडै महिनावारी सुरु हुने तथा ढिलो महिनावारी सुक्ने महिलामा, विवाह नगरेका महिला तथा विवाह त गरेका तर बच्चा नै नपाएका वा जन्माउने क्षमता नभएका महिलामा यो बढी देखिन्छ ।
यसरी नै ३० वर्षभन्दा पछि पहिलो बच्चा जन्माएका, बच्चालाई स्तनपान नगराउने महिला, धेरै वर्षसम्म परिवार नियोजनको चक्की, गर्भ नतुहिने औषधि डीईस तथा विभिन्न हर्मोनको उपयोग गर्ने, सानो उमेरमा अनावश्यक विकिरणको प्रयोग धेरै गरेका, अत्यधिक बोसो भएको खाद्य पदार्थको सेवन, नियमित रक्सी तथा चुरोटको सेवन गर्नेमा पनि यो रोग देखिएको छ । नियमित व्यायाम नगर्ने तथा ज्यादै मोटी मधुमेही, स्तनमा पहिलेदेखि नै गांठागुठी वा पुराना समस्याहरू भएका र पहिला एउटा स्तनमा क्यान्सर भइसकेकामा पनि यो रोग देखिने सम्भावना रहन्छ ।
लक्षण तथा चिह्नहरू
महिलाको दुवै स्तन समान नभई आकार, लेबल र बनोटमा फरक देखापर्नु, स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने लाम्चो आकारको गिर्खा आउनु, स्तन सुन्निएर कडा भई दुख्न थाल्नु, स्तनको मुन्टाबाट रगत, पिप अथवा फोहोर पदार्थ आउनु र ब्रा भिजिरहेका हुनु, स्तनको मुन्टा सीधा बाहिरपट्टि नफर्की दायांबायां ब्रा घुमेर भित्रपट्टि फर्कनु, स्तनको छालामा रङ अथवा नरमपनामा केही परिवर्तन साह्रो देखापर्नु, मुन्टो सुन्तलाको बोक्राको जस्तो प्वाल—प्वाल पर्नु यसका लक्षण हुन् ।
स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु, स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखापर्नु, ढिलो भएको खण्डमा स्तनमा सानातिना दाना देखा परी पछि घाउ नै बन्न जानु पनि यसका लक्षण हुन् । समयमै उपचार नभए हड्डी, कलेजो, डिम्बाशय, स्नायुप्रणाली र फोक्सोमा समेत क्यान्सर हुन सक्छ ।
सुरुको अवस्थामा पत्ता लगाउने तरिका
नियमित स्वास्थ्य परीक्षणः स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीको पन्जा लगाएको हातबाट स्तनको नियमित परीक्षण गराउनुपर्छ किनभने १ सेमीभन्दा सानो ट्युमर आफ्नो हातले छामेर पत्ता लाग्दैन । २० देखि ४० वर्षकाले हरेक ३ वर्षमा र ४० वर्ष माथिकाले हरेक १ वर्षमा विशेषज्ञसँग परीक्षण गराउनुपर्छ ।
म्यामोग्राफी प्रविधि स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने एक विशेष प्रकारको एक्स–रे परीक्षण हो । परीक्षणबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकाले ४० वर्ष उमेर पुगिसकेकाले मेमोग्राफी दुई वर्षमा एकपटक गराउनुपर्दछ । म्यामोग्राफीले ८५ प्रतिशत र ५ मिलिमिटर अर्थात चामलको दानाजत्रो ट्युमर पत्ता लगाउँछ । जसमा स्तन जोगाउन सकिने र विनाकेमोथेरापी बाँच्ने समय ९७ देखि १०० प्रतिशत बिरामीमा पाँच वर्ष या बढी हुन्छ ।
आफ्नो स्तनको आफैले परीक्षण गर्न पनि सकिन्छ । स्तनमा नयां वा असामान्य गिर्खा, डल्ला छन् कि छैनन् भनी थाहा पाउन महिलाहरूले स्तनको आफैले परीक्षण गरी पत्ता लगाउन सक्छन् ।
निदान
एफएनएसी स्तनमा भएका गिर्खाको कोष–कोषिकाहरू मसिनो सुइले झिकेर, प्रयोगशालामा अध्ययन गरी क्यान्सर निदान गर्न यो परीक्षण गरिन्छ । बायोप्सी (हिस्टोप्याथोलोजी)ः स्तनको प्रभावित भागबाट सानो मासुको टुक्रा निकाली प्रयोगशालामा परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ । यो विधि क्यान्सर पहिचानका लागि ज्यादै भरपर्दो छ ।
उपचार
बिरामीको अवस्था, शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएका आधारमा निम्न उपचार विधि प्रयोग गरिन्छ । सुरुकै अवस्थामा पत्ता लाग्यो र उपचार गरियो भने ९० प्रतिशत निर्मूल वा क्यान्सरको खतराबाट मुक्त हुन्छन् । पहिलो, दोस्रो र तेस्रो अवस्थाको स्तन क्यान्सरको उपचार लक्ष्य क्यान्सर निको पार्ने र दोहोरिन नदिने हुन्छ भने चौथो अवस्थाको स्तन कयान्सरमा उपचारको लक्ष्य आयु लम्बयाउने खालको हुन्छ । स्तन क्यान्सर भएकाहरूको प्रतिरोधात्मक शक्ति कम भएर जाने भएकोले रोगलाई विकराल रूप लिन नदिनका लागि रोगी साहसी, कटिबद्ध एवं इमानदार हुनु आवश्यक छ । किनभने, आत्मबल र इच्छाशक्ति भए स्तन क्यान्सरबाट पनि मुक्त हुन सकिन्छ ।
रोकथाम
२५ वर्ष उमेर पुगेका महिलाहरूले आफ्नो स्तनको आफैं परीक्षण गरी वा स्तन क्यान्सरको लक्षण फेला परेमा तुरुन्त नजिकको स्वास्थ्यकेन्द्र वा सम्बन्धित अस्पतालमा जँचाउनुपर्छ । यसका साथै स्तन क्यान्सर रोकथामका सामान्य उपायमा बोसोयुक्त खानेकुराहरू नखाने, मद्यपान र सुर्ती सेवन नगर्ने, मोटोपन घटाउने, बच्चालाई दुई वर्षसम्म स्तनपान गराउने, प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी, रेसादार खाना खाने, सधैं शारीरिक रूपमा तन्दुरुस्त रहने, इस्ट्रोजन हर्मोन, कीटनाशक औषधि ज्यादा प्रयोग नगर्ने, पारिवारिक आनुवंशिक इतिहास भएकाले नियमित मेमोग्राफी, उच्च सतर्कता अपनाउने र स्तन क्यान्सरबारे चेतनामूलक जानकारी उपलब्ध गर्ने गराउने गर्न जरुरी हुन्छ ।
नेपालमा पनि स्तन क्यान्सर भएका महिलाहरूको संख्या बढ्दो छ र प्रायः महिलाहरू स्तन वा काखीमा गांठो देखा परेपछि मात्रै वा जटिल अवस्थामा चिकित्सकसंग परामर्श वा उपचारका लागि आउने भएकोले यस क्यान्सरबाट हुने मृत्युदर बढ्दो छ । स्मरणीय के छ भने महिला आफैंले छामेर स्तनको वा काखीको गांठो पत्ता लागेको अवस्थामा प्रायः जटिल हुने भएकाले महिलाहरू सचेत भई समयमै झन्झट नमानी स्क्रिनिङ म्यामोग्राफी गराउन हुन र क्यान्सर उपचारपछि पनि जीवन सरल दीर्घायु बनाउन हुन अनुरोध छ ।
राजधानी
Dr. Prakash Budatthoki