समाज

७५ वटै जिल्लामा सरकारी क्याम्पस खोल्ने तयारी

७५ वटै जिल्लामा सरकारी क्याम्पस खोल्ने तयारी
कात्तिक - ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले ७५ वटै जिल्लामा कम्तीमा एउटा सरकारी क्याम्पस खोल्ने तयारी भएको बताएका छन्। prachanda-nepalaaja कञ्चनपुरको पुनर्वासमा कृषि क्याम्पस स्थापनाका लागि प्रधानमन्त्रीसँग ज्ञापनपत्र पेस गर्न आज गएको सर्वपक्षीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्न सरकार लागिरहेको पनि उल्लेख गरे। उनले भने, “अघिल्लोपटक प्रधानमन्त्री हुँदा मेरो नेतृत्वमा देशका विभिन्न भागमा विश्वविद्यालय स्थापनाको काम अगाडि बढ्यो। यसपटक शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्नुपर्छ भन्ने लागेको छ। सबै जिल्लामा कम्तीमा पनि एउटा सरकारी कलेज खोल्ने तयारी गरिएको छ।” उनले कृषि शिक्षामा लगानी नगरी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिँदैन भन्दै कृषि क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउने विश्वास दिलाए। कञ्चनपुरको पुनर्वासमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ६५ बिघा जमिन कृषि क्याम्पसका नाममा उपलब्ध गराउन प्रतिनिधिमण्डलले माग गरेको थियो। प्रतिनिधिमण्डलमा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता लेखराज भट्ट, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा भूषण श्रेष्ठ, कृषि क्याम्पस स्थापनार्थ तदर्थ समितिका संयोजक रामचन्द्र नेपाललगायत सहभागी थिए।

Prachanda purspa kamal dahal

विशेष