समाज

व्यावसायिक सीप र नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने अभिमुखीकरण

व्यावसायिक सीप र नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने अभिमुखीकरण
कात्तिक – १० ।  हस्पिटालिटी क्षेत्रमा व्यावसायिक सीप र नेतृत्वदायी क्षमता कसरी अभिवृद्धि गर्ने भन्नेबारे सरोकारवालालाई अभिमुखीकरण गराइएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आज यहाँ आयोजना गरेको एक दिने कार्यशालामा लामो दूरी र विश्वव्यापी नेतृत्व ‘लङ डिस्टेन्स एन्ड ग्लोबल लिडरसीप’ शीर्षकमा स्विट्जरल्यान्डका विज्ञ डानियल चुडीले प्रशिक्षण दिएका हुन्। होटल व्यवसायी, एयरलाइन्स, ट्राभल एजेन्सी, टूर अपरेटर्स, सञ्चारकर्मी तथा विद्यार्थी सहभागी सो कार्यक्रममा विश्व व्यावसायिक बजारका नयाँ आयाम र हस्पिटालिटी क्षेत्रको विधि विधामा विशेष गरि सांस्कृतिक मूल्य, मान्यता र विविधताको विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले पर्यटन व्यवसाय, विश्वव्यापी उद्योग र विविध स्रोत, साधन र संस्कृतिसँगको अन्तक्र्रिया तथा पारस्परिक सम्बन्धको विषय भएकाले उपयोगी हुने बताए। पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेशसिंह बुडालले पाटाले नेपाली पर्यटन क्षेत्रमा मानव संशाधनको विकास र विस्तार गर्ने अभियानअन्तर्गत युवा पुस्तामा नेतृत्वदायी विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए। लामो दूरीको नेतृत्व र विश्वव्यापी नेतृत्व गरी दुई विधामा केन्द्रित गोष्ठीमा चुडीले प्रशिक्षण दिएका थिए। उनले व्यावसायिक दौरानमा नेतृत्वकर्ता र सरोकारवालाबीच सहजकर्ताको रुपमा समयसापेक्ष र सांस्कृतिक व्यवहार पिच्छे फरक पर्ने जटिल कार्यलाई व्यवस्थापन गर्न बहुसांस्कृतिक विश्वमा समानान्तर नेतृत्व विकासका लागि लामो दूरीको नेतृत्व उपयोगी हुने बताए।

PATA

विशेष