देश

बाजुराकाे स्याउले बजार पाएनन्

बाजुराकाे स्याउले बजार पाएनन्
कात्तिक - ११ । पाँच वर्षअघि सरकारले दीर्घकालीन कृषि आयोजना सहयोग कार्यक्रममार्फत बाजुराका स्याउ खेती गर्ने किसानलाई बिरुवा वितरण गर्यो। त्यहाँका छवटा गाविसमा स्याउ खेती फष्टायो । तर उत्पादन भएको स्याउ किसानले बिक्री गर्न भने पाएनन्। जिल्ला कृषि विकास कार्यालय बाजुराका अनुसार कुल २०० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुन्छ। जुकोट र पाण्डुसेन गाविसमा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको कार्यालयका बागवानी विकास अधिकृत सविता जोशी बताउँछिन्। “उत्पादन प्रशस्त भए पनि किसानले बजारमा पुर्याउन सकेका छैनन्,” उनले भने। जिल्लामा यातायातको पहुँच नहुँदा किसानले स्याउ बजारसम्म ढुवानी गर्न सकिरहेका छैनन्। कोल्टी बजारसम्म स्याउ ढुवानी गर्न एक दिन पैदल हिँड्नुपर्ने स्थिति छ । गत वर्ष बाजुरामा ४९० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यस वर्ष उत्पादन बढ्ने सम्भावना रहेको जोशीको भनाइ छ। दुई सय हेक्टरमा स्याउ खेती गरिए पनि ९८ हेक्टरमा मात्र स्याउ उत्पादन भएको छ। बिक्री गर्न समस्या भएपछि किसानलाई चाना बनाउन अनुदान उपलब्ध गराएको अधिकृत जोशीले बताए। कार्यालयले गत वर्ष चाना बनाउने मेसिन ५० किसानलाई ७५ प्रतिशत अनुदानमा वितरण गरेको थियो। यस वर्ष पनि कार्यालयले ५० किसानलाई सो मेसिन अनुदानमा दिने तयारी गरेको छ। जिल्लाका जुकोट, पाण्डुसेन, वाई, जगन्नाथ, गोत्री, साप्टा गाविसमा स्याउ उत्पादन हुन्छ । गाउँमा किसानले प्रतिदाना स्याउ पाँच रुपैयाँमा बिक्री गर्दै आएका छन् भने सदरमुकाम मार्तडी र कोल्टी बजारमा प्रतिदाना १५ देखि २० मा बिक्री हुने गरेको बताइएको छ। रासस

APple bajura Prachanda syao

विशेष