आधुनिक खेतीका नाममा सरकारबाट यसरी ठगिए किसान

कात्तिक - ११ । उन्नत बीउबिजन प्रयोग गरी आधुनिक खेतीतर्फ अग्रसर हुन खोज्दा धादिङ, दोलखा र बर्दियाका सयौँ किसान मर्कामा परेका छन् ।
तीनवटै जिल्लामा उन्नत जातको धानको बीउ प्रयोग गरी लगाइएको धानबालीमा राम्रो दाना नलागेका कारण किसान मर्कामा परेका हुन् । फियान नेपाल र राष्ट्रिय कृषक महासङ्घ नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘साना किसानको अवस्था र चुनौती विषयक’ कार्यक्रममा सो कुरा अवगत गराइएको हो ।
धादिङको ७४० रोपनी जग्गामा हदिर्नाथ–१ जातको धानखेती गरिएको थियो । उक्त बीउ जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । सो जातको बीउ जिल्लाको नीलकण्ठ नगरपालिका, त्रिपुरेश्वर र सलाङमा खेती गर्दा १११ मेट्रिक टन धान कम फलेको राष्ट्रिय कृषक महासङ्घ नेपालका अध्यक्ष उद्धव अधिकारीले जानकारी दिए ।
धादिङका किसान भक्तबहादुर बस्नेतका अनुसार एक हजार ८५५ किलो उक्त धानको बीउ क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले उत्पादन गरी प्रतिकिलो रु ३५ मा उन्नत जातको भनी बिक्री वितरण गरेको हो । किसानले दोलखाको पवटी गाविस–१ मा खुमल–४, खुमल–८ र खुमल–१० जातका धानखेती गरेका थिए । त्यहाँ ३० देखि ४० प्रतिशत उत्पादन घटेको बताइन्छ ।
त्यसैगरी, बर्दियाको पाताभार, गोला र राजापुर नगरपालिकामा ४०० बिगाहा खेतमा मकवानपुर–१ जातको बीउमा १५ थरी अन्य जातका धान फलेपछि धान बिक्री हुन छोडेको बताइन्छ । ‘साना किसानको अवस्था र चुनौती विषयक’ कार्यक्रमको कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले उद्घाटन गरेका हुन् ।
adhunik kheti
Bardiya
Dhading
dolakha
