समाज

अनुगमन टोलीद्वारा मिठाई उत्पादनमा रोक

अनुगमन टोलीद्वारा मिठाई उत्पादनमा रोक
कात्तिक–११ । भक्तपुर जिल्लाका मिठाई पसलहरुले न्यूनतम मापदण्ड पनि पूरा नगरी पसल सञ्चालन गरेको पाइएपछि अनुगमन टोलीले मिठाई उत्पादनमा रोक लगाएको छ । झिंगा भन्केको, बासी, भुसुना तथा कमिला डुबेको अवस्थामा राखेको मिठाई नष्ट गरी जिल्ला प्रशासन कार्यालय भक्तपुर, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, महानगरीय प्रहरी परिसर भक्तपुर लगायतको बजार अनुगमन टोलीले उत्पादनमा रोक लगाएको हो । अनुगमन टोलीले भक्तपुर नगरपालिका–४, कमलविनायकस्थित विनायक मिठाई भण्डारमा तिहारको लागि बनाएर राखेको निकै दिनदेखिको बासी, झिंगा भन्केको घ्यूको बट्टामा राखिएको १५ केजी मिठाई नष्ट गरेको छ । त्यस्तै कमलविनायककै शाक्य मिठाई पसललाई समेत मिठाई पकाउने भान्छा अत्याधीक फोहोर र स्वास्थ्य प्रतिकूल पाइएकाले उक्त मिठाई पसललाई पनि मिठाई उत्पादनमा रोक लगाइएको छ । त्यसैगरी, सूर्यविनायकस्थित लक्ष्मी मिठाई भण्डार, ललित शाहको मिठाई पसल, जय श्रीकृष्ण डेरी, कमलविनायकस्थित काफ्ले मिठाईबाट रङ्गको मात्रा बढी प्रयोग भएका मिठाई जफत गरी नष्ट गरेको श्रोतले बताएको छ । जिल्लामा सञ्चालित अधिकांश मिठाई पसलले पसल सञ्चालन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डलाई समेत ख्याल नगरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । बिहीबार अनुगमन गरेको ६ मिठाई पसलमध्ये एक मात्र दर्ता रहेको पाइएको छ । मिठाई पसल सञ्चालकले भने तिहारको समयमा मिठाई उत्पादनमा रोक लगाएको भन्दै विरोध गरेका छन् । तिहारमा एकै दिनमा मिठाईको माग पूर्ति गर्न नसक्ने र केहीअघि देखि नै मिठाई बनाएर राख्ने गरिएको उनीहरुले बताएका छन् ।

anugaman bajar anugaman Mithai

विशेष