एउटा कलाकारले गरेको यो काम इतिहासले पनि सम्झिने छ, गिरानचौरमा बनेका ६४ घरका कथा
कात्तिक १२ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपीडितका लागि ६४ वटा घर निर्माण पूरा गरेको छ ।
यी घरको चाबी शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपीडितहरुलाई हस्तान्तरण गर्दै छिन् । हास्य कलाकार सीताराम कट्टेल र उनकी पत्नी कुञ्जना घिमिरेको अगुवाईमा गिरानचौरमा एकीकृत बस्ती निर्माण सम्पन्न भएको हो । भूकम्प गएको १८ महिना भयो । सरकारले भूकम्पपीडितहरुकालागि पहिलो किस्ता नै वितरण गर्न सकेको छैन । तर धुर्मुस सुन्तलीले दुई वटा एकीकृत वस्ती सकेका छन् । भूकम्पको बेला यति सय उतिसय घर निर्माण गरिदिन्छौं भनेर घोषणा गर्ने नेपालका औद्योगिक घरानाहरु अहिले चुपचाप छन् । सम्भवतः सधै चुपचाप बस्नेछन् ।
धुर्मुस र सुन्तलीको अहिलेको एकीकृत बस्ती निर्माणमा पाँच हजार स्वयंसेवकहरुले श्रमदान गरेका छन् । धेरै मानिसहरुले उनीहरुको फाउन्डेसनलाई सहयोग गरेका छन् । यो फाउन्डेसन राउटेलाई एउटा खसी दिएर सेल्फी हान्ने फाउन्डेसन जस्तो छैन ।
कलाकार कट्टेलले ६४ घर बनाउन पाँच करोड रुपैयाँ खर्च भएको र त्यो पैशा शुभेच्छुकहरुले दिएको खुलस्त भन्दै आएका छन् । उनले बस्ती बनाउन पुग्ने सहयोग प्राप्त भएपछि थप सहयोग नलिने घोषणा गरेका थिए । लुट्ने जमानामा ‘सहयोग लिन्न’ भन्ने घोषणा गर्नु सीतारामको इमान्दारीता थियो ।
असार २० गते बस्ती निर्माण शुरु गरेका सीतारामको सपना हालै साकार भएको छ । बस्ती निर्माणको काममा व्यस्त हुनु परेकोले चलचित्र छक्का पञ्जामा उनले अभिनय नगरेको खबर पनि बाहिर आएको थियो । निर्माता मध्येका एक सीतारामको छक्का पञ्जा बजारमा सुपर हिट भयो, उता उनको समाजसेवाले एउटा ठोस आकार लियो ।
तामाङहरुको बाहुल्यता रहेको गिरानचौरमा स्थानीयले धुर्मुसलाई ‘देउतै रैछन्’ भन्ने गरेका छन् । एकीकृत बस्तीमा रहेका ६४ वटै घरलाई होमस्टेमा प्रयोग गर्न मिल्ने गरी तयार पारिएको छ । सबै घर अगाडि दुईवटा फूल, घरपछाडि दुईवटा फलफूलका बिरुवा रोपिएको छ । घरमा निलो, सेतो र रातो रङ लगाइएको छ । नेपालको झन्डामा पनि यीनै रङ छन् । यी सबै घर अपांग, बाल र वातावरण मैत्री र भूकम्पप्रतिरोधी छन् ।
बस्तीका प्रत्येक घरले सडक छुन्छ । चौक चौकमा बालउद्यान र पार्क बनाइएको छ । यो वस्तीमा पानीको स्रोत थिएन । आठ सय मिटर तलबाट लिफ्ट गरेर पानीको प्रबन्ध मिलाइएको छ । हरेक घरमा शौचालय, बाहिर सार्वजनिक शौचालय बनाइएको छ । राष्ट्रपतिले चाबी हस्तान्तरण गरेपछि ६४ परिवार शुक्रबार नै आफ्नो नयाँ घरमा सर्नेछन् ।