गिरानचाैर पुगेर राष्ट्रपति भण्डारीले भनिन - 'अब पुनःनिर्माणको काम शीघ्र र तदारुकताका साथ अघि बढाउनुपर्छ ।'
कात्तिक - १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताए ।
सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले शुक्रबार आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ बस्ती बसाल्न गाह्रो भएको उल्लेख गरे ।
राष्ट्रपति भण्डारीले परआश्रित प्रवृत्तिको अन्त्यमा जोड दिँदै आत्मनिर्भर हुनुपर्ने बताएकी छिन् ।
उनले भूकम्प प्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत नमुना बस्ती बसाल्न सकिने औँल्याउँदै पुनःनिर्माणको काममा राज्य र जनसमुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले भौगोलिक बनावटको हिसाबले नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले पहाडी क्षेत्रमा पूर्वाधारको अभावले गर्दा एकीकृत बस्ती बसाल्न कठिन भएको बताउनुभयो । उनले भनिन्–'अब पुनःनिर्माणको काम शीघ्र र तदारुकताका साथ अघि बढाउनुपर्छ ।'
समारोहमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले एकीकृत नमुना बस्ती सरकारका लागि सिक्नलायक विषय भएको उल्लेख गर्दै यसखालका अभ्यासलाई देशका अन्य भागमा पनि लागू गर्न सकिने बताए ।
सांसद अग्नि सापकोटाले नयाँबस्ती पुनःनिर्माणको महाविश्वविद्यालय भएको र यो राजनीतिक पार्टीका लागि सिक्ने विषय भएको बताए ।
सो कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि नमुनाबस्ती उदाहरणीय भएको बताए ।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले नमुना एकीकृत बस्ती समानताको प्रतिविम्ब भएको बताए ।
रु पाँच करोड १४ लाख ३९ हजार १८७ को लागतमा निर्माण भएको एकीकृत नमुना बस्तीमा ६५ घरधुरी छन् । रासस
bidhya bhandari
giran chaur