स्वास्थ्य

अखाद्य वस्तु हालिएका र प्रदूषित एकसय ६० किलो मिठाई बरामद

अखाद्य वस्तु हालिएका र प्रदूषित एकसय ६० किलो मिठाई बरामद
कात्तिक - १३ । तिहार शुरु भइरहँदा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले अखाद्य वस्तु हालिएका र प्रदूषित अवस्थाका एकसय ६० किलो मिठाई बरामदपछि नष्ट गरेको छ । अनुगमन टोलीले जिल्लाका स्थानका मिठाई पसलमा अनुगमन गर्दा भण्डारण गरी बेच्न राखिएको मिठाईमा कमिला र झिँगा डुबेको तथा फोहोर पनि परेको देखिएपछि नष्ट गरेको हो । भक्तपुर नगरपालिका-४ कमलविनायकस्थित विनायक मिठाई भण्डारले बेच्न भण्डारण गरेको लाल मोहन, रसबरी, रातो चमचम र सेतो चमचमलगायतका मिठाईमा कमिला, झिँगा, भुसुना र साङ्लो डुबेको भेटेपछि नष्ट गरिएको खाद्य तथा गुणनियन्त्रण विभागका शङ्कर भण्डारीले जानकारी दिए । उक्त मिठाई भण्डारले आवश्यक न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको उनको भनाइ छ। जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रवीचन्द्र मिश्रले उक्त मिठाई पसलको भान्सामा सिलबन्दी गर्न लागेपछि सञ्चालकले विरोध गरेका थिए । केहीसमय विवाद भएपछि टोली सिलबन्दी नगरी फर्किएको थियो । टोलीले कमलविनायकमा रहेको शाक्य मिठाई पसलबाट अखाद्य रङ्ग मिसिएको मिठाई नियन्त्रणमा लिएर नष्ट गरेको छ । कमलविनायकमै रहेको काफ्ले मिठाई भण्डार र सूर्यविनायकमा रहेको लक्ष्मी मिठाई भण्डारमा अनुगमनको क्रममा मूल्यसूची नभएको, आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको र नाप तौलका उपकरण प्रमाणीकरण नगरेको पाएपछि ती पसलका व्यापारीलाई सचेत गराएको छ । बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारी प्रहरी, स्थानीय उपभोक्ता र अधिकावादी एवम् सञ्चारकर्मी सहभागी थिए ।

Mithai mithai nast

विशेष